सीसीएमसीको बैठक बालुवाटारमा जारी
काठमाडौं । कोरोना नियन्त्रण, रोकथाम तथा उपचारका सम्बन्धमा भावी कदम र व्यवस्थापन मिलाउन कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।
बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसिरहेको छ। कोरोना नियन्त्रण, रोकथाम र उपचार सम्बन्धमा थप रणनीति बनाउन र व्यवस्थापन मिलाउन बैठक बसिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले सामाजिक ट्वीटर तथा आफ्नो फेसबुक अकउन्ट मार्फत जानकारी गराएकाछन् ।
बैठकमा कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि विशेष निर्णय हुन सक्ने बुझिएको छ। यसअघि मंगलबार सीसीएमसीको अनौपचारिक बैठकमा देशभर आइसोलेसन केन्द्र र क्वारेन्टिन स्थल बढाउनुपर्ने विषयमा छलफल भएको थियो।
मन्त्रीहरुले पछिल्लो समय बढ्दै गएको संक्रमणको अवस्थालाई ध्यानमा राखेर थप कदम चाल्नुपर्ने देखिएको धारणा राखेका थिए। कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले स्थानीय प्रशासनलाई नै आवश्यक व्यवस्था गर्न दिने निर्णय गरिसकेको छ। उक्त निर्णयसँगै देशका विभिन्न जिल्लामा पूर्ण र आशिंक रुपमा निषेधाज्ञा जारी भइरहेका छन्।
प्रतिक्रिया