भदौ ७ मा काठमाडौं–दुबई उडान हुने

नेपालखोज २०७७ भदौ ५ गते १८:३३

काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं–दुबईका लागि रद्द उडान आगामी २३ अगष्ट अर्थान भदाै ७ देखि सञ्चालन गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको स्वीकृतिमा उक्त दिन दुबइबाट काठमाडौंका लागि टिकट लिइसकेका यात्रुका लागि उडान सञ्चालन गरिने निगमले आज विज्ञप्तिमार्फत् जनाएको हो । उक्त उडानमा कोभिड–१९ नेगेटिभ रिपोर्टसहित यात्रा गर्न पनि निगमले अनुरोध गरेको छ । निगमको उडान तालिका अनुसार बिहान ७ः३० बजे काठमाडौंबाट दुबई जाने जहाज सोही दिन दिउँसो ४ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जनाइएको छ ।

निगमको गत १८ अगष्टका लागि दुबईबाट काठमाडौंका लागि तय गरिएको उडान यात्रुलाई काठमाडौंमा क्वारेन्टाइनको व्यवस्थापन नभएको भन्दै सरकारले स्थगित गरेको थियो । काठमाडौंबाट २३५ यात्रु तथा १५ टन कार्गो लिएर गएको निगमको वाइड बडी जहाज दुबइबाट रित्तै फर्किएको थियो । जहाज रित्तै फर्केपछि सम्बन्धित निकायको चौतर्फी आलोचना भएको थियो । उडानका लागि दुबई एयरपोर्टमा तयार रहेका यात्रु अलपत्र परेका थिए । बिहिबारको मन्त्रिपरिषद् वैठकले उद्धार उडान सञ्चालन गर्न अनुमति दिएको थियो ।

प्रतिक्रिया