उपत्यकामा निषेधकाे आदेश उल्लङ्घन गर्ने मोटरसाइकल बढी
काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण रोक्न स्थानीय प्रशासनले जारी गरेको आदेश उल्लंघन गर्नेमा सबैभन्दा बढी मोटरसाइकल धनी देखिएका छन् । काठमाडौं उपत्यकाका ३ जिल्लामा अत्यावश्यकबाहेकका सबै गतिविधि निषेधको आदेश जारी गरिएको आज दोस्रो दिनसम्म कुल ३ हजार ५०२ सवारी साधनले आदेश उल्लंघन गरेको पाइएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार त्यसमा सबैभन्दा बढी ३ हजार १४५ मोटरसाइकल छन् । जम्मा ३५७ चारपाङ्ग्रे गाडीले मात्रै आदेश उल्लंघन गरेको पाइएको छ । पहिलो दिन बिहीबार सबैभन्दा बढी दुई हजार ९०२ सवारी साधन आदेश नमानेर गुडेका थिए । आज दोस्रो दिन आदेश उल्लङ्घन गर्ने सवारी साधनको संख्या ह्वात्तै घटेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए । उनका अनुसार आज भने ६१० सवारी साधनले मात्रै आदेश उल्लंघन गरेको पाइएको छ । त्यसमा ५३० मोटरसाइकल छन् ।“पहिलो दिन अलि अन्योल पनि भयो, कतिले थाहा नपाएको पनि हुनसक्छ, कसैले पेलेर जान खोजेका पनि थिए तर हामीले त्यस्ता गाडीलाई कडाइ गरेर दिनभर नै होल्डमा राख्यौँ”, ढकालले भने, “त्यसैको प्रभाव आज न्यून गाडीले आदेश अटेर गरेको पाइयो ।”
उनले पहिलो दिनभन्दा आज भने सहरबजार, सडक तथा पसलमा धेरै नियम मानेको पाइएको र शान्तिपूर्ण रुपमा आदेशको कार्यान्वयन भइरहेको बताए । त्यसरी आदेश नमान्ने गाडीलाई राति ८ बजेपछि मात्रै छाड्ने गरिएको छ । अटेर गर्न खोज्ने र जबर्जस्ती गर्न खोज्नेलाई भने कारवाहीको दायरामा लगिने तथा त्यस्ता चालकलाई स्थानीय प्रशासन ऐन २०२८ र सङ्क्रामक रोग ऐन २०२० अनुसार कारवाही गरिने उनले बताए ।
महाशाखाले आदेशको पालना गराउन काठमाडौं उपत्यकाका १५२ स्थानमा जाँच गर्ने गरेको छ । यस्तै ४६ स्थानमा नेपाल प्रहरी र ट्राफिकको संयुक्त टोली रहेको र राति ३९ स्थानमा जाँच हुने गरेको छ । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाले यही भदौ १० गतेसम्म अत्यावश्यकबाहेकका गतिविधि गर्न निषेधको आदेश जारी गरेका छन् ।
प्रतिक्रिया