पहिरोले तीन घर बगायो, २५ परिवार विस्थापित

नेपालखोज २०७७ भदौ ८ गते १३:२७

सल्यान । जिल्लाको वागचौर नगरपालिका ­१२ बाफुखोलामा आएको अविरल वर्षाले ओखरेनी गाउँका २५ घर परिवार विस्थापित भएका छन् भने ओखरेनी गाउँमा पहिरोको उच्च जोखिममा परेपछि स्थानीयहरु विस्थापित भएर देउपुरीमा रहेको दुर्गा सरस्वती माविमा आश्रय लिइरहेका छन् ।

ओखरेनी गाउँमा तीन घर पहिरोले बगाएको र गाउँभरिमा सयाै‌ं स्थानमा पहिरो गएकाले स्थानीयहरु घर छोडेर विद्यालयमा बसेका छन् । यही भदौ ३ गते आएको वर्षाले पूरै गाउँमा पहिरो गएको छ । अहिले पनि घरभित्रबाटै पानीको मूल फुटेको, घरहरु भासिएको तथा घर वरिपरि पहिरो गएर घर पहिरामा पुरिने अवस्था भएकाले गाउँलेहरु विद्यालयमा बसेको स्थानीय वीरसिंह डाँगीले जानकारी दिए । “यस ठाउँमा सय वर्ष पहिले यस्तै खालको पहिरो गएको हो भन्ने सुनेका थियौं, आज आफ्नै आँखाले यस्तो विजोग देख्नुपर्यो”, उनले भने ।

पहिरोले विस्थापित भएको यतिका दिन बित्दा पनि राहत नपाएको उनीहरुको गुनासो छ । “विस्थापित भएर आएकाहरुसँग न त खाने कुरा छ, न लत्ताकपडा नै ल्याउन पाएका छन् । यस्तो अवस्थामा हामी कसरी बस्नु, अहिलेसम्म कतैबाट केही राहत पाएका छैनौं” स्थानीय पदम खत्रीले भने । वाफुखोलाको ओखरेनीमा पहिरोले ठूलो क्षति भएकाले तथ्याङ्क सङ्कलन गर्ने कार्य भइरहेको बागचौर नगरपालिका­ १२ का वडाध्यक्ष दिपककुमार वलीले बताए ।

“अहिले वडा कार्यालयमार्फत मुचुल्का तयार गर्ने काम भइरहेको र राहतका लागि पहल गरिनेछ”, उनले भने । बाफुखोलामा रहेका करिब ५ सय ५० घरधुरीमध्ये अहिले ५० प्रतिशतभन्दा बढी पहिराको उच्च जोखिममा रहेका छन् ।      रासस

प्रतिक्रिया