भेरी अस्पतालका दुई जना चिकित्सकमा कोरोना संक्रमण पुष्टि
काठमाडौं । भेरी अस्पतालका दुई जना चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्यकर्मीमा गरिएको परीक्षणमा भेरी अस्पतालको प्रयोगशालाले उनीहरुको कोरोना पुष्टि गरेको हो । भेरी अस्पतालको मेडिसिन डिपार्टमेन्टका प्रमुख डाक्टर राजन पाण्डे र अर्का एक जना चिकित्सकमा कोरोना पुष्टि भएको हो ।
डाक्टर पाण्डेले फेसबुकमार्फत आफूमा कोरोना पुष्टि भएको जानकारी दिँदै एक हप्ताभित्र आफ्नो सम्पर्कमा आएका सबैलाई परीक्षण गराउन आग्रह गरेका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘कोभिड–१९ को बिरामीहरुको उपचारमा रहँदा म पनि यसबाट अछुतो रहन सकिनँ । मसँग गत एक हप्ताभित्र सम्पर्कमा आउनुहुने सम्पूर्ण व्यक्तिहरुले कोभिड–१९ को जाँच गर्नुहोला । म स्वास्थ्य लाभपछि प्लाज्मा दान गर्नेछु । मेरो रक्त समूह ‘ए पोजिटिभ’ हो ।’ स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले भेरी अस्पतालका अरु स्वास्थ्यकर्मीको पनि जाँच गरिएको र उनीहरुको नतिजा मंगलबार बेलुकासम्म आउने जानकारी दिए । ‘फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी जोखिममा छन्,’ उनले भने,‘सचेतता झनै अपनाउन जरुरी छ ।’
प्रतिक्रिया