शुक्रबार, वैशाख १४, २०८१

सर्कारी सोच, खाडीमा गाकालाई चौरको राडीमा पल्टाईदेऊ !

नेपालखोज २०७७ भदौ ९ गते १७:५४

ओहो ! को ऽ रोना भन्ने यो भाईको रस पनि बाठो । आफूभन्दा निर्धो त देख्न नसक्ने नेपालको दुइतिहाईको सरकार जस्तो । त्यत्तिमात्र कहाँ हो र, दुई–चार हजार माग्ने कमजोर कर्मचारी देख्यो कि झम्टिहाल्ने अख्तियार जस्तो ।

हुन पनि हुआन कि सुहानबाट निस्केको भाइको रसले पशुपतिनाथको देशलाई पनि आक्रामण गर्न खोजेको रे । मट्याङ्ग्रोले बुझ्दै बुझेन, पशुपतिनाथको देशलाई भाईको रसको आक्रमण ! भने पनि यो त आक्रमणकारी भन्ने की आतंककारी जस्तै रैछ ।

कस्ता–कस्ता युद्ध जित्ने हाम्रो देशाँ, जावो भाइको रसले जित्न सक्ला र ! आफ्नै देशाँ १० वर्षसम्म आक्रमण गरेर मान्छे उहाँ कस्ता–कस्ता ठाउँमा पुगिसके । तिनलाई पु¥याउने पो मलेसिया, कतार दुवई गएर ठाउँमा पुगेकाहरुको सुविधाका लागि हुण्डी पठाईरहेका छन् ।

हुण्डी गरेर खाडीबाट पठाको पैसाले नेतालाई पाल्या छन्, औषधी उपचार गरिदिएका छन् । तर, तिनै विचरा नेपाली केटाहरुलाई भाइको रसले निकै दुःख दिएर घर फर्कन्छु भन्दा पनि पाएका छैनन् । यो हो कि, त्यो हो भनेर अल्झाईरहेका छन् ।

यता दुई मन्तरीको कुरो नमिल्दा, दुबई उद्दार गर्न पुगेको चिल गाडी रित्तै फर्किएछ । नफर्कियोस् पनि किन ? मट्याङ्ग्रोको तालुमा आलु फलाउन त हाईव्रिड बीउ चाहियो नि ! बीउ किन्न पैसा चाहियो अनि चील गाडीमा सररऽ ररर आउनका लागि हरियो पत्तो पनि त चाहियो नि ?

हो ऽ मट्याङ्ग्रोको हातमा त्यही पत्तो नपरेका कारण चिल गाडी फर्केको ! बल्लबल्ल भाईको रसका कारण दाईको ढुकुटी भरिँदै छ । त्यत्ति पनि देखि नसहने कस्तो डुकुलण्ठक रैछ बा । गरिखाको पनि दिन नसक्ने ।

उता साँइलो मट्याङ्ग्रो दुवईको एयरपोर्टमा चिल गाडी कुरेर बसेको बसै छ । तर, चिलगाडी पुगेर पनि फर्किसक्यो । चिलगाडीले साँइलो मट्याङ्ग्रोलाई लिन गएपछि ल्याएन त, कसको बाउको के गयो त ? चिल गाडी उड्यो, फर्क्यो । मट्याङ्ग्रोको ढुकुटी त भरियो नि ! जसरी पनि आउनुपर्ने नोटै हो, मान्छे ल्याओस् कि, नल्याओस नोट त पानी ट्यांकीमा जम्मा भाकै होला ? के–का ट्यास–ट्यास । जाने बेला मट्याङ्ग्रोलाई सोधेर गाको हो र ?

मानवतस्करमा रमाउँदै, ‘नजाउ छोडी यो देश, आमालाई रुवाएर’ भन्दाभन्दै गाको होइन । जसरी गयो त्यसरी आऊ । हुन पनि हो मट्याङ्ग्रे मन्तरीको कुरा पनि ठिकै हो । अम्रिका, क्यान्डा जस्ता ठूला ठाउँमा गाको भा पो ल्याउने, ख्वाउने प्याउने गर्नु । जावो खाडीमा गाकालाई चौराँ राडी विछ्यार सुताईदिए भैगो नि ।

ए बाबा हेप्ने पनि हद हुन्छ नि । जसले मरुभूमिमा गएर, रगत पसिना बगाएर, रेमिट्यान्स पठायो उसैलाई राडीको बास । कठैवरा मट्याङ्ग्रोको साम्यवाद ! भाईको रसले खाका जनता जनार्दनलाई उद्धार गर्ने हो कि उनीहरुबाट उपहार लिने हो मनभित्र खुल्दुली बढ्या छ मट्याङ्ग्रेको ! जति खुल्दुली बढे पनि के भो र ? भाई ऽरसको आक्रमणबाट जोगिन साम्यवादी सरकारले उद्दार भन्दै उपहार लिन थालेपछि तेब्वर भाडा तिरेर आईराख्छा छन् । भाईको रसको परीक्षण पनि आफ्नै पैसाले, बस्ने होटलमा पनि आफ्नै पैसाले भए भरका सै आफ्नै पैसाले गर्न परेपछि भुत्रोको पठाउनु खाडीमा बसेर हुण्डी !

देश चलाउने ठेकेदारले चलाओस् न देश । को–को सँग भिख माग्नुपर्ने हो माओस् । अव त एक, दुई, तीन, मट्याङ्ग्रेले खाडीबाट हुण्डी गरेर नेताको उपचार गर्न पैसो पठाउदैन । अहिले भाइको रसले महामारीमा पारेर घर फिर्ता गरिदेऊ भन्दा चाहिँ चीलगाडी फर्काउने अनि तिम्लाई हुण्डी गरीगरी पैसो पठाउनु पर्ने । देशको माटो बेचेर ठूलाठूला देशमा जानेलाई चाहिँ फिरी, पैसै नतिरी ल्याउने । अनि रगत पसिना बगाएर आफ्नै देश बनाउनु पर्दछ भन्ने साईलो मट्याङ्ग्रोलाई चाहिँ राडीमा पल्टाउने ? पशुपतिनाथ, देश धर्म निरपेक्ष भएर केही हुन्न । नेताहरु भैंसी पूजा गर्न व्यस्त छन्, भाइको रसको कमिशनमा मस्त छन् । त्यसैले देश बनाउन पैसा कमाउन देश फर्कने वाध्यकारी नियममा विदेश गएका मट्याङ्ग्राहरुको जीवन रक्षा गरिदेऊ । नेताले चिल गाडी फिर्ता गरेपनि पशुपतिनाथ, गरुड महाराजलाई पठाईदेऊ ।

प्रतिक्रिया