शुक्रबार, चैत १६, २०८०

जाडाेमा आउला त दोस्रो चरणकाे कोरोना संक्रमण ?

नेपालखोज २०७७ असोज १ गते ९:१२

असोज लाग्यो । यो महिना नेपाली समाजको अतिनै व्यस्त महिनमा पर्ने गर्छ । चाडपर्वहरु नजिकिँदै छन्, वालिनाली भित्र्याउने, वर्षभरिका लागि अन्नपातको जोहो गर्ने तथा लेकबाट बेंसी झर्न सुरु गर्ने समय समेत हो । जसका कारण यो समयमा मानवीय चहलपहल समेत बढ्ने विगतका वर्षहरुको अनुभव रहेको छ । तर, अहिलेको समय भने नितान्त भिन्न छ । देशभर निषेधज्ञा जारी गरिएको छ । मानिसहरु घरभित्रै थुनिन बाध्य छन् । मानवीय चहलपहलका कारण भीडभाड तथा व्यस्त हुने स्थानहरु सुनसान तथा निर्जन छन् । यो सबैको कारण हो अहिलेको मानव सभ्यतालाइ नै चुनौती दिइरहेको कोरोना भाइरस ।

सन् २०१९ को अन्त्यमा चीनको वुहानबाट सुरु भएको नोबल कोरोना भाइरस ( कोभिड–१९) ले अहिले वैस्विक महामारीको रुपमा सारा संसारभर आतंक तथा भय फैलाइरहेको छ । अहिलेसम्म विश्वभर ३ करोडभन्दा धेरै संक्रमित भईसकेका छन् भने ९ लाख २९ हजारभन्दा धेरैको मृत्युसमेत भईसकेको छ । यो आंकडा सेकेन्ड सेकेन्ड बढ्दो क्रममा रहेको छ ।

अहिले पृथ्वीमा मौसम परिवर्तन हुँदैछ । दिनानुदिन ठन्डी बढ्दैछ । सामान्य अवस्थामा समेत यो समय भनेको कोल्ड फ्लु अर्थात् रुघाखोकी, सर्दी तथा मौसमी फ्लूहरुको संक्रमणका लागि उपयुक्त हुने समय हो । मौसम अनुसार भाइरसको संक्रमण दर समेत फरक हुने गरेको छ । गर्मीको समयमा पोलियो, वसन्तमा निजल, चिकनपक्सलगायतका भाइरसहरुका लागि उपयुक्त समय हो । विषेशगरी कोभिड समुहका अन्य भाइरसहरुको संक्रमण ठण्डीको समयमा धेरै हुने गरेको विगतको तथ्यांकले देखाउँछ । तर, यो वर्षको जाडो याम सुरुभएसँगै आम जनमानस तथा अनुसन्धानकर्ताहरुलाई समेत चिन्तित बनाएको छ । डर यो कुराको छ की कतै ठण्डी तथा ओसिलो हावा सँगै कोरोना भाइरस समेत झन तिव्र रुपले फैलने त हैन ? प्रश्न गम्भीर छ । केही विज्ञहरुको भनाईलाई मान्ने हो भने यो वर्षको जाडोयाममा कोरोनाको दोस्रो लहर आउने संभावना प्रवल रहेको छ । जुन लहर पहिलेको भन्दा अझ खतरनाक तथा भयावह हुनुका साथै अहिलेको भन्दा धेरै गुणाले मानवीय क्षति हुने विज्ञहरुको मान्यता रहेको छ ।

यसै विषयमा नेपालखोज टीमले केही तथ्य खोतल्ने कोशिष गरेको छ । यसमा विशेषज्ञको राय तथा सुझावलाई समेटेर संक्षिप्तमा उत्तर खोज्ने प्रयास गरिएको छ ।

हामीले विशेषज्ञका रुपमा पहिलो व्यक्ति राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कार्यरत नेपालका वरिष्ठ भाइरोलोजिस्ट डा. शेरबहादुर पुनलाई छानेका छौं । विषेशगरी कोभिड समुहका अन्य भाइरसहरुको संक्रमण ठण्डीको समयमा धेरै हुने गरेको विगतको तथ्यांकले देखाउँछ । के कोभिड–१९ले पनि यो जाडो याममा आफ्नो संक्रामक दरलाइ उच्च बनाउँछ ? भन्ने हाम्रो प्रश्नमा डा. पुन बताउँछन्, ‘चीनको वुहानमा कोरोनाको पहिलो संक्रमण ठण्डी मौसममा नै देखिएको तथा कोभिड समुहका अन्य भाइरसहरु पनि जाडोयाममा बढी सक्रिय हुने गरेकाले यो प्रश्न जायज नै छ । तर, कोभिड समुहका अन्य भाइरस गर्मी समयमा कम संक्रामक हुने गरेको भएपनि कोभिड–१९ले भने भारत, ब्राजिल, इरानलगायतका गर्मी ठाउँहरुमा ग्रीष्म याममा नै उच्च संक्रमण गराएकाले यसै भन्न सकिँदैन । कोभिड–१९ अत्यन्त नयाँ भाइरस रहेको, यसले मौसमी चक्र समेत पूरा नगरेकाले यस्तै हुन्छ भनेर भन्न नसकिने अवस्था छ । हामी आशा गरौं कोभिड–१९ भाइरसमा मौसमको असर नदेखियोस । तर, जाडोसँगसँगै दोस्रोचरणको संक्रमण लहर देखियो भने स्थिति अहिलेको भन्दा अत्यन्त भयाभह हुने र हालसम्म कोभिड–१९का लागि कुनै औषधी समेत बनिनसकेका कारण आम मानिस सरह आफुपनि चिन्तित छु ।’

त्यस्तै हामीले विशेषज्ञको रुपमा दोस्रो व्यक्ति शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका निर्देशक डा. सागर कुमार राजभण्डारीलाई छानेका छौं । डा. राजभण्डारी यो महामारीको समयमा राष्ट्रकै प्रमुख सरुवारोग अस्पतालको नेतृत्व गरिरहनुभएको छ । मौसम परिर्वतन सँगसँगै संक्रामक रोगहरु बढ्ने समय आउँदैछ, कोभिड–१९ को पनि संक्रमण बढ्दो छ । यो चुनौतिको सामना गर्न तपाइको कस्तो योजना छ ? भन्ने प्रश्नमा डा. राजभण्डारी भन्नुहुन्छ, ‘अहिले सारा विश्वले नै गम्भीर स्वास्थ्य समस्याको सामना गरिरहेकाले नेपालले पनि परिस्थितिको हरसम्भव सामना गरिरहेको छ । शुक्रराज ट्रपिकल अस्पताललगायतका संक्रमण नियन्त्रक अस्पतालहरुमा खासै कुनै रणनीतिक परिर्वतन गरिएको छैन । जाडोयाम सुरुभएसँगै रुघाखोकीको संक्रमण वढ्ने हुनाले लक्षण देखिने, संक्रमितको संख्या बढ्ने भएकाले शुक्रराज ट्रपिकल अस्पताललाई पुर्ण कोभिड अस्पतालको रुपमा प्रयोग गर्ने, अहिलेसम्म कुनै पनि औषधि नबनिसकेकाले यो संक्रमणबाट वच्नु नै एकमात्र विकल्प रहेका कारण सवैमा सावधानी अपनाउन म अनुरोध गर्दछु ।’

त्यसैगरी हामीले विशेषज्ञको रुपमा तेस्रो व्यक्तित्व नेपाल सरकार स्वास्थ्य मन्त्रालयका प्रवक्ता समेत रहेका वरिष्ठ चिकित्सक प्रा.डा. जागेश्वर गौतमलाई छानेका छौं । जाडोयाम सुरुभएसँगै कारोनाको संक्रमण अझ बढ्ने आंकलन उहाँले पनि गर्नुभएको छ । अब हुनसक्ने संक्रमण वृद्धि रोक्न तथा स्वास्थ्य व्यवस्थालाई अझ व्यवस्थित गर्न सरकार तथा स्वास्थ्य मन्त्रालयको नयाँ कार्ययोजना के छ ? भन्ने हाम्रो प्रश्नमा डा. गौतम बताउनुहुन्छ, ‘कोरोनाको आगामी संक्रमणको त कुरै छाडौँ अहिले नै पनि नियन्त्रण गर्न मुस्किल भइरहेको, नागरिक अनुशासित नभएकाले संक्रमण भुसको आगो सरह भित्रभित्रै व्यापक रुपमा फैलिईरहेको छ । नागरिक अनुसाशित हुने तथा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्ने हो भने कोरोना छिट्टै नियन्त्रणमा आउने, अन्यथा यसरी पर्व, जात्रा, जुलुसलगायतका कार्य गर्दै जाने हो भने नेपालमात्र हैन संसारका कुनैपनि देशले कोरोनाको नियन्त्रण गर्न सक्दैनन् ।’ जापान, कोरिया, चीनलगायतका देशहरुले जनताको सहयोग तथा स्वःअनुसासनबाट नै कोभिडको संक्रमण नियन्त्रण गर्न सफल भएको उदाहरण दिँदै डा. गौतम भन्नुहुन्छ, ‘आम नागरिकले सहयोग गरि स्वस्थ्य मापदण्ड कडाईका साथ पालना गर्ने हो भने मन्त्रालयको अहिलेकै रणनीतिले कोभिड नियन्त्रण सम्भव छ । अन्यथा नेपालको जनस्वास्थ्य क्षेत्रनै विघटनको स्थितिमा पुग्ने र कल्पनानै गर्न नसकिने स्तरको भयाभह अवस्थाको सामना गर्नुपर्ने अवस्था आउँछ ।’

तिनैजना विज्ञहरुको भनाइलाई सारांसमा हेर्ने हो भने कोरोना भाइरसको संक्रमणदरमा मौसमको कारण प्रभाव पर्छ या पर्दैन भन्ने प्रश्नको यकिन उत्तर भने भविश्यको गर्भमा नै रहेको छ । तर, हाम्रो बानी व्यवहार तथा सावधानीको असर अवस्य नै पर्ने कुरामा भने तिनैजना विज्ञहरुको एकमत रहेको छ । अहिलेको अवस्थामा उचित उपचार तथा खोपकोसमेत विकास भइनसकेका कारण हामी सम्पूर्ण नागरिकहरुले कोरोनाको संक्रमणबाट आफैं बच्नुको अर्को विकल्प नरहेको निश्कर्ष निकाल्न असहज हुँदैन । डब्लुएचओ, नेपाल सरकार स्वास्थ्य मन्त्रालयलगायतका सरोकारवाला निकायबाट जारी गरिएको स्वस्थ्य मापदण्ड अपनाएर कोरोनाको संक्रमणबाट बच्नु नै अहिलेको प्रमुख आवश्यकता हो । बाँकि त प्रकृतिको कहरका सामु कसको के लाग्छ र ?

प्रतिक्रिया