भेन्टिलेटर र आईसीयूका लागि प्रत्येक प्रदेशलाई २ करोड निकासा
काठमाडौं । संघीय सरकारले प्रत्येक प्रदेशमा ४ वटा भेन्टिलेटर र १० आईसीयूका लागि २–२ करोड रुपैयाँ निकासा गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले आज प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले गरेको भर्चुंअल बैठकमा आईसीयू र भेन्टिलेटर किन्न रकम निकासा भइसकेको जानकारी दिए ।
उनले कोरोना संक्रमणको बढि जोखिम भएका जिल्लाका लागि सरकारले एमडी र एमएस पास गरेका चिकित्सक खटाएको पनि जानकारी दिए । प्रदेश २ मा मात्रै २३ जना स्वास्थ्यकर्मी पठाएको प्रमुख विशेषज्ञ पोखरेलले बताए ।
पोखरेलले एक साताभित्रै काठमाडौं उपत्यकामा कन्ट्याक्ट ट्रेसिङमार्फत् ४० देखि ५० हजार स्वाब परीक्षणको तयारी सरकारले गरिरहेको जानकारी दिए ।
यसैबीच थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूतिगृह) ले दुई सय आइसोलेसन शय्या बनाउने भएको छ । कोभिडको सङ्क्रमण बढेसँगै अस्पतालले नयाँ भवन संक्रमितलाई राख्न छुट्याएको अस्पतालका उपनिर्देशक श्रीप्रसाद अधिकारीले बताए ।
प्रतिक्रिया