बिहीबार, जेठ १०, २०८१

कोरोना : विभिन्न अस्पतालमा थप चार जनाको मृत्यु

नेपालखोज २०७७ भदौ ११ गते ९:५८

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट देशका विभिन्न अस्पतालमा उपचाररत थप ४ जनाको मृत्यु भएका छन् । मृत्यु हुनेमा वीरगञ्जमा दुई, बुटवलमा एक र पोखरामा एक रहेका छन।

वीरगञ्जमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । पर्साको धोविनी गाउँपालिका–३ का ७२ वर्षीय पुरुष र बाराको सुवर्ण गाउँपालिका–४ हर्दिया बस्ने २३ वर्षीया महिलाको मृत्यु भएको हो ।

भदौ ८ गते नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका ७२ वर्षीय पुरुषमा निमोनियासमेत थियो । उनको उपचारका क्रममा गएराति मृत्यु भएको नारायणी अस्पतालका सूचना अधिकारी डाक्टर अतुलेश चौरसियाले जानकारी दिए । हर्दियाकी २३ वर्षीया संक्रमित गर्भवती महिला भदौ ८ गते नारायणी अस्पतालमा भर्ना भएकी र उनलाई सास फेर्न गाह्रो भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

उपचारकै क्रममा आज बिहान ६ बजे उनको मृत्यु भएको अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए । त्यस्तै कपिलवस्तुका कोरोना संक्रमित एक पुरूषको बुटवलमा मृत्यु भएको छ ।

कपिलवस्तु नगरपालिका १ का ५० वर्षीय पुरूषको बुटवलस्थित धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा गएराति मृत्यु भएको कोभिड अस्पतालका कोरोना फोकल पर्सन डा.सुदर्शन थापाले जानकारी दिए । पोखरामा पनि उपचारका क्रममा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड १९ उपचार केन्द्रमा एक जना संक्रमितको आज विहान मृत्यु भएको प्रतिष्ठानका अस्पताल निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए ।

प्रतिक्रिया