कोरोनाको हट स्पट बन्यो पर्सा
पर्सा । कोरोना भाइरस संक्रमणको हट स्पट बनेको पर्सा जिल्लामा संक्रमितको संख्या २ हजार नाघेको छ । बुधबार राति थप २४ जनामा संक्रमण पुष्टि भएसँगै पर्सामा संक्रमितको संख्या २ हजार २२ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
पर्सामा साउन यता मात्रै १ हजार ८ सय ६१ जना संक्रमित थपिएका हुन् । जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार, असार मसान्त सम्म पर्सामा १६१ जनामा मात्र संक्रमण भेटिएको थियो । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विनय श्रीवास्तवका अनुसार पर्सामा ४ सय ४४ संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भइ घर फर्किसकेका छन् ।
पर्साका दुईवटा कोभिड अस्पतालमा गरी अहिले ४१ महिला र १ सय ९ पुरुष गरि १५० संक्रमित उपचाररत छन् । यस्तै आफ्नै घरको होम आइसोलेसनमा ६ सय ५३ जना रहेको श्रीवास्तवले जानकारी दिए ।
अरु संक्रमितहरु वीरगन्जका विभिन्न नीजी अस्पताल, धर्मशाला र विद्यालयमा बनाइएका सेमी आइसोलेसनमा रहेका छन् । पर्साको वीरगन्जस्थित अस्पतालमा कोरोना भाइरस संक्रमणका कारण आजसम्म ४५ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया