कोरोना : विभिन्न अस्पतालमा थप ४ जनाको मृत्यु
काठमाडौं । कोरोना संक्रमणबाट देशका विभिन्न अस्पतालमा थप चार जनाको मृत्यु भएको छ । एक महिलासहित वीरगन्जमा थप ३ जना र पाल्पाका एक जना गरि कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–१२ मुर्ली निवासी ६५ वर्षीया महिला, वीरगन्ज–१२ निवासी ४३ वर्षीय पुरुष र वीरगन्ज–२२ मनियारीका ३७ वर्षीय पुरुष रहेका छन् । नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाकाअनुसार मनियारीका ३७ वर्षीय पुरुषलाई शुक्रबारराति ११ बजेर ४१ मिनेटमा थप उपचारका लागि वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालबाट काठमाडौं रिफर गरिएको थियो । सिकिस्त बिरामी रहेका उनको काठमाडौं लैजाँदै गर्दा शनिबार बिहान मुग्लिङनजिकै मृत्यु भएको डा.चौरसियाले जानकारी दिए ।
त्यस्तै वीरगन्ज–१२ का ४३ वर्षीय कोरोना संक्रमितको शुक्रबार राति ११ बजेर ५५ मिनेटमा उपचारको क्रममा वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा मृत्यु भएको डा.चौरसियाले बताए । हेपाटाइटीस बी र एचआईभी एड्सका बिरामी रहेका ती पुरुष शुक्रबार साँझ नेसनल मेडिकल कलेजबाट रिफर भएर कोरोना अस्पताल आएका थिए ।
त्यस्तै, शुक्रबार साँझ साढे ५ बजेको समयमा वीगन्ज–१२ मुर्ली निवासी ६५ वर्षीया महिलाको नारायणी अस्पतालमा मृत्यु भएको हो । त्यस्तै, लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचाररत पाल्पको तानसेन नगरपालिका–८ मदनपोखराकी ३० वर्षीया महिलाको मृत्यु भएको हो ।
भदौ ७ गते कोरोना पुष्टि भएकी उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि हिजो बिहानदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा बेलुका साढे ६ बजे मृत्यु भएको मेडिकल कलेजका मेडिकल निर्देशक राजु शाक्यले जानकारी दिए ।
प्रतिक्रिया