दाङमा प्राकृतिक विपदबाट २ करोड बराबरको क्षति
दाङ । दाङमा चार महिनाको अवधिमा प्राकृतिक विपद्बाट करिब २ करोडको क्षति भएको छ । जिल्लाका १० पालिकाका विभिन्न स्थानमा आगलागी, पहिरो, करेन्टलगायतका घटनाका कारण साउन महिनाको अन्त्यसम्म करिब २ करोडको क्षति भएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।
गत वैशाखदेखि साउन महिनासम्मको अवधिमा प्राकृतिक विपद्का कारण १ करोड ८० लाख ९१ हजार ४४० बराबरको क्षति भएको जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचनाकर्ता अजेन्द्र केसीले जानकारी दिए ।
उनका अनुसार चार महिनाको अवधिमा सबैभन्दा धेरै क्षति साउन महिनामा भएको छ । साउनमा मात्रै १ करोड चार लाख ५४ हजार १५० बराबरको क्षति भएको छ । अन्य महिनाको तुलनामा साउनमा बाढीपहिरो, सर्पदंशलगायतका प्राकृतिक विपद्का घटना धेरै हुने भएकाले पनि क्षति बढेको केन्द्रले जनाएको छ ।
साउनमामा पहिरो, वर्षातका कारण घर भत्किएका, करेन्ट, आगलागी, सर्पदंशसहित ६३ घटना भएका छन् । केन्द्रका अनुसार साउनमा भारी वर्षातका कारण घरगोठमा भएको क्षतिसम्बन्धी ३३ घटना भएका छन् । यसैगरी सर्पदंशका १५, पानीमा डुबेर मृत्यु भएका ९ जना, करेन्ट लागेका तीन र आगलागीका एक घटना भएका छन् । यसैगरी असारमा १९ विपद्का घटनामा परेर ४५ लाख ८७ हजार २९० बराबरको क्षति भएको केन्द्रका सूचनाकर्ता केसीले जानकारी दिए ।
यसैगरी प्राकृतिक विपद्का कारण जेठमा १३ लाख ५० हजार र वैशाखमा ८ लाख बराबरको क्षति भएको केन्द्रले जानकारी दिएको छ । जेठमा प्राकृतिक विपद्का ८ र वैशाख महिनामा ६ वटा घटना भएका छन् ।
प्रतिक्रिया