बिहीबार, जेठ १०, २०८१

कोरोना : विरगन्ज र सप्तरीमा थप २ जनाको मृत्यु

नेपालखोज २०७७ भदौ १४ गते ६:४०

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण विरगन्ज र सप्तरीमा थप २ जनाको मृत्यु भएको छ । नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा उपचाररत रौतहट गम्हरीया–३ का ३० वर्षीय संक्रमित युवकको शनिबार मृत्यु भएको छ ।

श्वासप्रश्वासमा समस्या देखिएपछि आफन्तले युवकलाई बिहीबार नारायणी अस्पताल लिएर आएका थिए । स्वाब संकलन गरी परीक्षण गर्दा शुक्रबार ती युवकमा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि शुक्रबार साँझ साढे ७ बजेको समयमा उनलाई कोरोना अस्पतालमा भर्ना गरिएको थियो । नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाका अनुसार ती युवकको उपचारको क्रममा शनिबार साँझ साढे ७ बजेको समयमा मृत्यु भएको हो ।

त्यस्तै, सप्तरीको राजविराज नगरपालिका २ का ६० वर्षीया महिलाको शनिबार राति उपचारका लागि विराटनगर लग्ने क्रममा मृत्यु भएको हो । लामो समयदेखि ज्वरो आइरहेकी ती महिला केही दिनयता राजविराजस्थित निजी क्लिनकमा उपचार गराउँदै आएकी थिइन् । उनको अवस्था गम्भीर भएपछि शुक्रबार गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको आकस्मिक कक्षमा भर्ना गरी स्वाब संकलन गरिएको थियो ।

स्वाब संकलनको रिपोर्ट शनिबार पोजिटिभ आएको र उनको अवस्था गम्भीर भएपछि थप उपचारका लागि विराटनगरतर्फ लग्ने क्रममा मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले एक जनाको मृत्यु भएको पुष्टि गरे । यो समेत सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

प्रतिक्रिया