शनिबार, जेठ ५, २०८१

अनुशासनको नाममा दण्डसजाय

नेपालखोज २०८० साउन १६ गते ९:४१

बालबालिकालाई के कस्ता ठाउँमा अनुशासनको नाममा दण्डसजाय हुने गर्दछ ?

बालबालिकालाई घर, विद्यालय, दिवा स्याहार केन्द्र, बालगृहहरू, खेल्ने स्थान तथा सार्वजनिक स्थलहरूमा समेत अनुशासन कायम गर्ने नाममा शारीरिक तथा मानसिक दण्डसजाय हुने गर्दछ।

सामान्य दण्डसजायले बालबालिकालाई असर गर्छ र ?

दण्डसजायबाट बालबालिकाको शारीरिक, बौद्धिक तथा मानसिक विकासमा तत्कालीन र दीर्घकालीन रूपमा नकारात्मक असरहरू देखा पर्दछन् । आवेशमा आएको बेलामा आफू उपर उचित नियन्त्रण नहुने हुनाले थोरै बल प्रयोग गर्ने उद्देश्य भए पनि गम्भीर चोटपटक लाग्ने, बालबालिकाको अङ्गभङ्ग हुने र कतिपय अवस्थामा मृत्यु समेत हुने खतरा रहन्छ ।

साना बालबालिकालाई चुप लगाउन हल्लाउँदा उनीहरूको मस्तिष्कमा चोट पुगी मृत्यु समेत हुन सक्दछ। सामान्य भनिएको शारीरिक दण्डसजाय भोग्नु पर्दा समेत बालबालिकाले हीनताबोध र अपमानित महसुस गर्दछन्।

दण्डसजायको वातावरणमा हुर्किएका बालबालिकाको मस्तिष्कको विकासमा बाधा पुग्ने भएकोले उनीहरूको बौद्धिक क्षमतामा समेत असर पर्दछ । उनीहरूमा आत्मविश्वासको कमी हुने, अभभिावक वा अन्य व्यक्तिहरूसँग सुमधुर सम्बन्ध कायम नरहने, नकारात्मक सोचको विकास हुने जस्ता अवस्था सृजना हुन सक्दछ ।

त्यसैगरी बाल्यकालमा दण्डसजायमा पारिएका व्यक्तिले जीवनमा आइपर्ने समस्याको समाधानको विकल्पका रूपमा हिंसा र बदलाको भावनालाई लिने गरेको पाइन्छ।

बाल्यकालमा हिंसाबाट पीडित पारिएका व्यक्तिहरू हिंस्रक वा आपराधिक प्रवृत्तिमा संलग्न भएका उदाहरणहरू प्रशस्त छन्।

दण्डसजायले बालबालिकालाई मात्र होइन, अभिभावकलाई पनि असर गर्दछ। आवेशमा आएर बालबालिकालाई शारीरिक वा मानसिक दण्डसजाय दिने अभिभावक पछि पछुतो मान्छन् । आफ्नो व्यवहारको कारण उनीहरू आफैँ पश्चात्ताप गर्छन् र अभिभावकको मानसिक स्वास्थ्यमा समेत असर पर्ने सम्भावना रहन्छ ।

प्रतिक्रिया