नवजात शिशुलाई अब भिटामिन के

नेपालखोज २०७७ भदौ १५ गते १३:३५

काठमाडाैं । सरकारले पहिलोपटक नवजात शिशुलाई ‘भिटामिन के’ (के वान) दिने भएको छ । रगतको मात्रा बढाउनका लागि नवजात शिशुमा ‘भिटामिन के’ दिन थालिएको हो । जन्मेदेखि २८ दिनभित्रमा सुईको माध्यमबाट ‘भिटामिन के’ दिने गरिन्छ । ‘भिटामिन के’ को नाम (के वान) राखिएको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गतका खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले रगतको मात्रा कमी हुन नदिनका लागि यस आर्थिक वर्षदेखि ‘भिटामिन के’ दिन थालिएको जानकारी दिए । दुई वर्षअघिदेखि कम तौल भएको शिशुलाई मात्र दिँदै आएको सो भिटामिन अब जन्मिने सबै शिशुलाई दिन थालिएको हो । साउनदेखि नै शुरु गर्ने भनिएको कोभिड—१९ को कारणले ‘भिटामिन के’ कार्यक्रम लागू गर्न नसकिएको उनले बताए ।

उनले शिशुमा रगत जमाउने तत्व कम हुने र यसले गर्दा रक्तस्राव भई शिशुको मृत्युदर पनि बढ्ने भएकाले रगत जमाउने तत्वको काम गर्न ‘भिटामिन के’ दिन थालिएको बताए । जन्मिना साथ आमाको दूध चुसोपछि सुईमार्फत शिशुलाई ‘भिटामिन के’ दिनुपर्दछ । नवजात शिशुमा ‘भिटामिन के’ को मात्रा कमी हुन्छ र सोही कारणले बच्चामा कुनै चोटपटक लागेमा रक्तस्राव बढी भई मृत्युसमेत हुने गर्छ ।

‘भिटामिन के वान’ मानिसमा दुई प्रकारले, खानाको मध्यम तथा आान्द्राभित्र रहेका ब्याक्टेरियाबाट प्राप्त हुन्छ । “नवजात शिशुले खाने खाना आमाको दूधबाट प्राप्त हुने ‘भिटामिन के’ रक्तस्राप रोक्न प्रयाप्त हुँदैन भने नवजात शिशुमा आन्द्राभित्र रहेका ब्याक्टेरिया पनि सक्रिय रुपमा नहुने हुँदा शिशुमा ‘भिटामिन के’ को कमी हुन्छ”, उनले भने, “सो अवस्थामा ‘भिटामिन के’ मा निर्भर भई रगत जम्न सहयोग गर्ने तत्वको पनि कमी भई शरीरमा कुनै कारणले चोटपटक हुन गएमा रक्तस्राव भइरहने हुन सक्छ । रक्तस्राव रोक्न ‘भिटामिन के’ दिन थालिएको हो ।”

प्रतिक्रिया