ललितपुर महानगर प्रमुखको गैरकानूनी काम, नगर प्रहरी प्रमुखमा हाछेथुलाई नियुक्ती

नेपालखोज २०७७ भदौ १५ गते १७:४७

काठमाडौं । मुलुक यतिखेर कोरोनाको कहरमा छ । कोरोनाको कहरबाट नागरिकहरुलाई सुरक्षित गराउनुपर्ने स्थानीय तहमा भने लुटको खेती फस्टाईरहेको देखिन्छ । स्वास्थ्य सामग्री खरिददेखि नियुक्तिसम्मका काम अहिले मौलाईरहेको छ ।

यतिखेर ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन कोरोनाको महामारी विरुद्ध लाग्नुको सट्टा धमाधम नियुक्तिमा रमाईरहेका देखिन्छन् ।

बेला न कुबेला महानगरप्रमुख चिरीबाबु महर्जनले एकलौटी ढंगबाट नगरप्रहरी प्रमुखमा पूर्व ट्राफिक प्रहरी निरीक्षक सिताराम हाछेथुलाई नियुक्ति दिएका छन् । नगरप्रहरी प्रमुखमा नियुक्ति गर्नका लागि निश्चित मापदण्ड नै नबनाई खल्तीबाट नियुक्ति दिएपछि महानगरभित्रै विरोधका आवाज गुञ्जिन थालेका मात्र होइन कांग्रेसबाट निर्वाचित कार्यापालिकाका सदस्यहरु नै मेयर चिरीबाबुसँग रुष्ट छन् ।

संविधानले स्थानीय तहलाई दिएको अधिकारको दुरुपयोग गर्दै चिरिबाबुले हाछेथुलाई कसरी नियुक्ति दिए ? सिधै नगरप्रहरी प्रमुखको नियुक्ति दिने कुनै पनि अधिकार स्थानीय तहलाई छैन । यद्यपी कानून विपरितको काम चिरीबाबुले गरेका छन् । चिरीबाबुले दिएको नियुक्ती थापेर हाछेथुले आईतबारदेखि नै काम थालनी गरिसकेको महानगर श्रोतले बताएको छ । यस विषयमा महागनरका प्रमुख चिरीबाबु मर्हजन, प्रवक्ता राजु महर्जनलाई पटक–पटक फोन गर्दा समेत सम्पर्कका आउन चाहेनन् ।

गैरकानूनी ढंगले नगरप्रहरी प्रमुखको नियुक्ति किन गरिएको हो भन्ने विषयमा महानगरकी उपप्रमुख गीता सत्यालले आफूलाई कुनै जानकारी नभएको र सञ्चार माध्यमबाट हाछेथु नियुक्ती भएको जानकारी पाएको बताईन् ।

महानगरका प्रमुख चिरीबाबुले जसरी नगरप्रहरी प्रमुख नियुक्ती दिएका छन्, सो नियुक्ती कुनै पनि हिसावले कानून सम्मत नभएको र सो नियुक्ती बदर नगरिए स्थानीय तहका जनप्रतिनिधिहरुले जथाभावी निर्णय गर्नसक्ने स्थानीय तहका कार्यरत कानून विज्ञहरु बताउँछन् ।

प्रतिक्रिया