सोमबार, चैत ३, २०८१

महोत्तरीमा तेस्रोपटक निषेधाज्ञा

नेपालखोज २०७७ भदौ १६ गते ११:१९

महोत्तरी । कोभिड–१९ सङ्क्रमण फैलदै जाँदा जिल्ला प्रशासन कार्यालय महोत्तरीले तेस्रोपटक निषेधाज्ञा जारी गरेको छ । भदौ १० गते दोस्रोपटक जारी गरिएको निषेधाज्ञाको अवधि सोमबार मध्यरातमा सकिएपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले थप एक साता अवधिका लागि यो आदेश जारी गरेको हो ।

Advertisement

सोमबार थपिएको निषेधाज्ञाको अवधि भदौ २२ गतेसम्म कायम रहने प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जारी गरेको आदेशमा उल्लेख छ । जिल्ला प्रशासन कार्यालयले जिल्लाभरि लागू हुनेगरी भदौ १ गते १० दिनका लागि निषेधाज्ञा घोषणा गरेको थियो । यद्यपि त्यसअघि पनि साउन २१ गते नै जिल्ला सदरमुकाम जलेश्वर नगरपालिकाको मुख्य बजारक्षेत्र र महोत्तरी गाउँपालिका–३ र ५ मा निषेधाज्ञा जारी थियो ।

भदौ लागिकन जिल्लाभरि जारी गरिएको निषेधाज्ञाबीच नै यहाँ सङ्क्रमण ह्वात्तै बढेको छ । जिल्लामा कोरोना भाइरसबाट मृत्यु भएका कूल १० मध्ये आठको मृत्यु भदौ लागिकन भएको हो । तीमध्ये दुई जनाको मृत्यु सोमबार भएको प्रदेश नं २ स्वास्थ्य निर्देशनालय जनकपुरधामले जनाएको छ । जिल्लामा सोमबार साँझसम्म ११९ महिला र एक हजार १२४ पुरुषसहित एक हजार २४३ जनामा सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये सात जनामा सोमबार नै पुष्टि भएको निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिए । भदौ लागेयताका १५ दिनमा जिल्लामा २३४ नयाँ सङ्क्रमित थपिएका छन् ।

जिल्लामा लगातार निषेधाज्ञा थपिँदै गए पनि यसको अनुगमन भने नभएको गुनासो बढेको छ । साना सवारी साधन (साइकल, मोटरसाइकल, जिप, टेम्पु) निर्वाध चल्नु र जताततै भीडभाड बढे पनि त्यसको निगरानीमा प्रहरी, प्रशासन र स्थानीय तहको नेतृत्व उदासीन देखिएको बर्दिवास–१४ का अम्बिकाप्रसाद गौतमको गुनासो छ ।

प्रतिक्रिया