कोरोना संक्रमण न्यूनीकरण गर्ने सामान सुरक्षाकर्मीलाई वितरण
काठमाडौं । नेपाल ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालले कोरोना प्रकोपका बेला पनि संक्रमण कम गर्न अग्रभागमा खटिने सुरक्षाकर्मीलाई सुरक्षा उपकरणहरु वितरण गर्न थालेको छ । पछिल्लो समय कोरोना प्रकोप नियन्त्रणमा अग्रपंक्तिमा जनताको जीउधनको सुरक्षामा रातदिन खटिरहेका प्रहरीहरुमा नै कोरोनाको सक्रमण देखिन थालेपछि महासंघको पहलमा सुरक्षाकर्मीहरुलाइ सुरक्षाका उपकरणहरु वितरण गरिएको बताइएको छ ।
मंगलबार महासंघका अध्यक्ष मोहन कटुवालले महानगरीय प्रहरी वृत्त सिंहदरवार र महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरलाई खुट्टाले थिचेर सेनिटाइज गर्ने सेनिटाइजरसहितको स्ट्याण्ड वितरण गरेका छन् । त्यस्तै ग्रील महासंघमा आवद्ध जोरपाटी इकाइ समितिद्वारा महानगरीय प्रहरी वृत्त बौद्धलाई खुट्टाले थिचेर हात धुने ट्यांकीसहितको उपकरण र खुट्टाले थिचेर सेनिटाइज गर्ने स्ट्याण्ड वितरण गरेको समितिका अध्यक्ष चन्द्रभक्त श्रेष्ठले जानकारी दिए । बल्खु थानकोट इकाइ समितिका कोषाध्यक्ष दिलिप महर्जनले पनि महानगरीय प्रहरी वृत्त कीर्तिपुरलाई पेडल सेनिटाइजर स्ट्याण्ड दिएका छन् ।
नेपाल ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका अध्यक्ष कटुवालले जनताको सुरक्षाको निम्ति अग्रभागमा खटिने सुरक्षाकर्मी नै संक्रमित भएमा थप समस्या पैदा हुने कुरालाइ ध्यानमा राखी आफ्ना मातहतका जिल्ला, क्षेत्र तथा इकाइ समितिमार्फत् सुरक्षाका उपकरणसहित राहत सामाग्रीहरु देशव्यापी रुपमा वितरण गर्न लागिएको बताए । उनले थपे, ‘यो असहज अवस्थामा सबै वर्गले आ–आफ्नो ठाउँबाट देश र जनताका लागि यथासक्य सहयोग गरेर सामाजिक उत्तरदायित्व निर्वाह गरौं ।’
अध्यक्ष कटुवालले जोखिम कम भएको स्थानमा सुरक्षा विधिहरु अपनाएर उद्योग व्यापार ब्यवसाय सन्चालन गर्ने वातावरण सिर्जना गरी जनजीवनलाइ भयरहित सामान्य रुपमा ल्याएर अर्थतन्त्रलाई चलायमान बनाइराख्नका लागि सरकारसँग आग्रह पनि गरे ।
सुरक्षा सामाग्रीहरु स्वीकार गर्दै प्रहरी कार्यालयका प्रमुखहरुले यसरी ग्रील उद्योगी व्यवसायीहरुले सुरक्षित रहने र जोखिम न्युनीकरण गर्ने सामाग्री उपलब्ध गराउँदा हामी सुरक्षकर्मीमा हौसला मिलेको बताउँदै कोरोनाको संक्रमण नियन्त्रणमा थप सहयोग मिलेकोमा धन्यबाद ज्ञापन गरेका थिए ।
संस्थाले अघिल्लो लकडाउनमा पनि देशभरका सुरक्षाकर्मी प्रहरीहरुलाई मेन क्याचर स्टीक वितरण गरेको थियो । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालले १ लाख ६० हजार जना भन्दा बढीलाई रोजगारी दिँदै आएको देशैभर सञ्चालित करिव ११ हजार भन्दा धेरै ग्रील तथा स्टील ब्यवसायीको छाता संस्था हो ।
प्रतिक्रिया