शनिबार, असार २१, २०८२

वडाध्यक्षले कर्मचारी धम्क्याएपछि नगरपालिकाको कामकाज ठप्प

नेपालखोज २०७७ भदौ १८ गते १३:३२

रुपन्देही । रुपन्देहीको देवदह नगरपालिकाका एक कर्मचारीलाई वडाध्यक्षले अपशब्द प्रयोग गर्दै गाली गरेर धम्क्याएपछि सम्पूर्ण कर्मचारीहरुले नगरपालिकाको कामकाज ठप्प पारेका छन् । नगरपालिकामा कार्यरत कर्मचारी रमेश गिरीलाई देवदह नगरपालिका–१२ का वडाध्यक्ष वावुलाल यादवले फोन गरेर गाली गरेपछि कर्मचारीहरुले निज वडाध्यक्षलाई कारबाहीको दायरामा नल्याउन्जेल नगरपालिकाको कामकाज ठप्प हुने बताएका छन् ।

देवदह नगरपालिकाका कर्मचारीहरुले प्रेस विज्ञप्ती जारी गर्दै बुधबार बिहान घरमै बसिरहेको समयमा वडाध्यक्ष यादवले फोन गरेर अमर्यादित, सुन्न नसकिने अपशब्द प्रयोग गरी बेइज्जत गर्ने र धम्की दिने कार्य गरेकाले सम्पूर्ण कर्मचारीको ध्यानाकर्षण भएको बताएका छन् ।

विज्ञप्तीमा भनिएको छ, ‘वडाध्यक्षलाई कानुनी कारबाही नहुँदासम्म देवदह नगरपालिका र अन्तर्गतका सम्पूर्ण कार्यालयहरुमा कार्यरत कर्मचारीहरुको कामकाज गर्ने मनोबल नै नभएको हुनाले निजलाई कारबाहीको दायरामा ल्याउन नगरपालिका र सम्वद्ध सवैसँग अनुरोध गर्ने एवम् त्यतिन्जेलसम्म कर्मचारीबाट गरिने कार्यसम्पादन गर्न नसकिने व्यहोरा सम्वद्ध सवैमा जानकारीको लागि अनुरोध छ । यसबाट सेवाग्राहीमा पर्न जाने असुविधाप्रति सम्पूर्ण कर्मचारी परिवार क्षमाप्रार्थी छ ।’

त्यस्तै, नेपाल सरकारको निजामती सेवाका शाखा अधिकृत (व्याट ३३)हरुले पनि एक विज्ञप्ती जारी गर्दै वडाध्यक्षमाथि कारबाहीको माग गरेका छन् । देवदह नगरपालिकामा अधिकृत सातौं तहमा समायोजन भई नियमित कामकाज गर्दै आएका राष्ट्रसेवक कर्मचारी रमेश गिरीप्रति सोही नगरपालिकाका निर्वाचित वडाध्यक्षले आफ्नो निहित स्वार्थ पुरा नगरिदिएको रिसवी साँध्दै अत्यन्तै गैरसामाजिक, असहिष्णुपूर्ण र अमर्यादित शब्दद्वारा नागरिक र कर्मचारीबीचको अन्योन्याश्रित सु–सम्वन्ध समेत खल्बल्याउने गरी मौलिक हक, मानव अधिकार, प्रचलित श्रम कानुनको हनन गर्दै ज्यानकै समेत धम्की दिई गरिएको मोबाइल वार्ताप्रति ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख गरेका छन् ।

उनीहरुले जनप्रतिनिधि जस्तो समाजकै अभिभावक तथा कर्मचारीकै रक्षकबाट गलत नियत राखि भएको यसखाले गैर–कानूनी र असामाजिक व्यवहार र हर्कतको सभ्य शैलीमा घोर भत्सर्ना गर्दै दोषीउपर यथाशिघ्र कानुनी कारबाहीको माग पनि गरेका छन् ।

यसै विषयमा देवदह नगरपालिकाका वडाध्यक्ष वावुलाल यादवसँग भने सम्पर्क हुन सकेन । वडा नं. ६ का अध्यक्ष दामोदर क्षेत्रीले अध्यक्ष यादवले कर्मचारीलाई धम्क्याएको स्वीकारे । नगरपालिका प्रमुखसँग बुझ्न खोज्दा मोबाइल स्वीच अफ आयो ।

प्रतिक्रिया