बिहीबार, जेठ १०, २०८१

बागलुङ पहिरो {अपडेट}: तीनजनाको शव गुल्मीमा फेला

नेपालखोज २०७७ भदौ १८ गते १७:०७

बागलुङको ढोरपाटन नगरपालिकामा बुधबार राति पहिरोमा परी हराइरहेकामध्ये तीन जनाको शव गुल्मीको बढीघाट खोलामा फेला परेको छ । मुसिकोट नगरपालिका –५ इन्द्रेगौंँडा ७ को सुदी र चन्द्रकोट गाउँपालिका –८ तीनसिमलस्थित बढिघाट खोला किनारमा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदार पन्थले जानकारी दिएका छन् ।

बढीघाट खोलामा ठूलो बाढी आएपछि स्थानीयवासीले बगाएर ल्याएको दाउरा सङ्कलन गर्ने क्रममा किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । फेला परेका शवमध्ये एक बालक र अन्य दुई जना अन्दाजी ३५/४० वर्षिया महिला भएको प्रहरीले जनाएको छ ।

उक्त पहिरोग्रस्त क्षेत्रबाट बगेको बढीघाट खोला धेरै मात्रामा गुल्मीको भूभाग हुँदै बग्ने भएका कारण बाढीपहिरोमा हराइ रहेका अन्य गुल्मीमा भेटिन सक्ने अनुमान गरिएको छ । बुधबार राति परेको अविरल वर्षाका कारण आएको बाढीले बढीघाट खोलामा पानीको बहाव बढेकाले स्थानीय प्रशासनले खोला किनारमा बसोबास गर्ने मानिसलाई सुरक्षित रहन आग्रह गरेको छ ।

प्रतिक्रिया