शनिबार, वैशाख ८, २०८१

अनुदानमा हिउँदे तरकारीको बिउ

नेपालखोज २०७७ भदौ १९ गते १६:०७

गण्डकी । कास्कीको अन्नपूर्ण गाउँपालिकाले कृषिका माध्यमबाट स्थानीयवासीको जीवनस्तर उकास्ने लक्ष्यका साथ २ हजार ५०० घरधुरीमा ५० प्रतिशत अनुदानमा हिउँदे तरकारीको बिउ वितरण गरेको छ । परम्परागत कृषि प्रणालीलाई त्याग्दै कृषिको आधुनिकीकरणमार्फत स्थानीयवासीलाई उत्पादनसँग जोड्न विभिन्न नौ जातका हिउँदे तरकारीको बिउ वितरण गरिएको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिए ।

उनको अनुसार गाउँपालिकाले कृषकलाई मार्फा चौडा पाते रायो, मूला (मिनुअर्ली र चालिसे), सिमी, पालुङ्गो, धनीया, काउली, बन्दा र केराउको बिउ अनुदानमा उपलब्ध गराएको हो । यसअघि अघिल्लो आर्थिक वर्षमा गाउँपालिकाभित्रका जमिनमा उत्पादन हुनसक्ने कृषिजन्य वस्तुको पहिचानका लागि यहाँका ११ वटै वडामा माटो परीक्षण गराइएको थियो । गाउँपालिकाले उत्पादन र उत्पादकत्व वृद्धि गर्दै स्थानीयवासीलाई आत्मनिर्भर बनाउनका लागि फलफूललगायतका बिरुवा पनि वितरण गर्दै आएको छ ।

प्रतिक्रिया