बुधबार, असार ६, २०८१

पाइपलाइनको एक वर्ष : ५३ करोड लिटर डिजेल आयात

नेपालखोज २०७७ भदौ २४ गते २१:३२

काठमाडौं । नेपाल आयल निगमले मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनमार्फत एक वर्षका अवधिमा करीब ५३ करोड लिटर डिजेल आयात गरेको छ ।

विसं २०७६ भदौ २४ गते दक्षिण एशियाकै प्रथम अन्तरदेशीय पेट्रोलियम पाइपलाइनका रुपमा अमलेखगञ्जमा पाइपलाइन सञ्चालनमा आएको एक वर्षका अवधिमा ५३ करोड ४१ लाख तीन हजार लिटर डिजेल आयात भएको छ । पाइपलाइन सञ्चालनको एक वर्ष पूरा भएका अवसरमा आज एक प्रेस विज्ञप्ति जारी गर्दै निगमले प्रदेश नम्बर २ को अमलेखगञ्जमा निरन्तर रुपमा डिजेल आयात भइरहेको जनाएको छ ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार ६९ किलोमिटर लामो उक्त पाइपलाइनमार्फत डिजेल आयात हुँदा ढुवानी भाडामा उल्लेख्य बचत भएको र पेट्रोलियम पर्दाथको गुणस्तर सुनिश्चित भएको छ । उनकाअनुसार भारतको बरौनीदेखि नेपालको अमलेखगञ्जसम्म प्रतिलिटर ट्यांकर ढुवानीमा प्रतिलिटर रु एक र ५० पैसा खर्च हुने गरेकामा पाइपलाइनपछि सो खर्च जोगिएको छ ।

वर्षमा करीब रु ८० करोड २६ लाख ढुवानीमा रकम बचत भएको जनाइएको छ । चालु आर्थिक वर्ष २०७७\०७८ को नीति तथा कार्यक्रमअनुसार मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनलाई चितवनको लोथरसम्म विस्तार गर्ने योजनाअनुसार काम अगाडि बढाइएको निगमले जनाएको छ ।

प्रतिक्रिया