शुक्रबार, वैशाख १२, २०८२

सातामा १०.२७ अंक बढ्यो शेयर बजार, गत साताको तुलनामा कारोबार रकम भने कम

नेपालखोज २०७७ भदौ २६ गते १५:३६

काठमाडौं । यो साताको पाँच कारोबार दिनमा नेप्से परिसूचक १० दशमलव २७ अंकले बढेको छ । गत साताको अन्तिम कारोबार दिन १ हजार ५१० दशमलव ४२ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन १ हजार ५२० दशमलव ६९ विन्दुमा पुगेको हो । यो साता पाँच कारोबार दिनमा दुई दिन बजार घटेको छ भने तीन दिन बजार बढेको छ ।

साताको पहिलो दिन १० दशमलव ४५ अंक र र दोस्रो दिन १२ दशमलव १७ अंकले बजार घटेको थियो । तेस्रो कारोबार दिन मंगलवार २ बजेर ४३ मिनेटसम्म घटेको बजार त्यसपछि भने उकालो लागेको थियो । गत साताको अन्तिम कारोबार दिन बिहीवार देखि तीन दिन लगातार बजार घटेर मंगलवारदेखि उकालो लाग्ने क्रममा रहेको छ । यो बेला कम्पनीहरुले गत आर्थिक वर्षको लाभांश प्रस्ताव गर्ने क्रम रहेकाले पनि बजारमा सकारात्मक प्रभाव पर्ने विश्लेषकहरु बताउँछन् । आर्थिक वर्ष सुरु भएको ६ महिना अर्थात पौष मसान्तसम्म शेयरधनीहरुले बाली भित्र्याउने समयको रुपमा बजारमा कारोबार गर्ने गर्दछन् । विगतका वर्षहरुमा यस अवधिमा बैंकमा तरलता समस्याका कारण शेयर बजारमा लगानीयोग्य पूँजीको अभाब भएका कारण गति लिन सकेको थिएन । यस वर्ष भने बैंक तथा वित्तीय संस्थामा प्रयाप्त तरलता र कम व्याजदरका कारण यो क्षेत्रले गति लिन सहयोग मिलेको छ ।

गत साता शेयर बजारमा ११ अर्ब ९० करोड रूपैयाँभन्दा बढीको शेयर कारोबार भएकोमा यो साता कारोबार रकममा भने कमि आएको छ । यो साता ११ अर्ब ५२ करोड रूपैयाँ भन्दा बढीको मात्र शेयर कारोबार भएको छ । कारोबार रकममा गत साताभन्दा यो साता ३७ करोड ९८ लाखभन्दा बढीले कमि आएको हो ।

नेपालको शेयर बजारको कुल पूँजीकरण यस साताको अन्तिम कारोबार दिनसम्म २० खर्ब २१ अर्ब ७४ करोड ९० लाख रूपैयाँ पुगेको छ । गत साता यो रकम १९ खर्ब ९८ अर्ब ३१ करोड ४० लाख थियो । कुल बजार पूँजीकरण गत साताभन्दा यो साता २३ अर्ब ४३ करोड ५० लाखले बृद्धि भएको हो । यो साता नेप्से परिसूचक बृद्धि भएपनि ठुला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स भने ३ दशमलव ३५ अंकले घटेको छ । गत साता ३०४ दशमलव ७३ रहेको सेन्सेटिभ इन्डेक्स यो साता ३०१ दशमलव ३८ विन्दुमा झरेको हो ।

प्रतिक्रिया