भक्तपुरमा कुकुरसहित एकै घरका तीनको हत्या
भक्तपुर । मध्यपुरथिमि नगरपालिका–९ निकोसेरास्थित एकै परिवारका तीन जनाको हत्या गरेको अवस्थामा आज शव फेला परेको छ ।महानगरीय प्रहरी वृत्त थिमिदेखि करिब ७०० मिटर पर निकोसेराबाट सिन्टिटार जाने सडकमा रहेको चारतले घरमा कुकुरसहित सुदिप अधिकारीको परिवारका तीन जनाको हत्या गरेको अवस्थामा शव फेला परेको हो ।
आफ्नै घरको चौथो तलाको भान्छाबाट कौशीमा निस्कने ठाउँमा ३६ वर्षीय सुदिप अधिकारी, दोश्रो तलाको ओछ्यानमा श्रीमती ३४ वर्षीया सम्झना र तेश्रो तलाको कोठाको ओछ्यानमा १५ वर्षीय छोरा सुशान्तको शव रहेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए । दोश्रो तलाको भ¥र्याङ नजिकै कुकुरसमेत मरेको अवस्थामा भेटिएको उनले जानकारी दिए ।
आज करिब ४ः०० बजे मृतकका भाइ सुनिल अधिकारीले दाजुको घरमा आइपुग्दा घरको दोश्रो तल्लामा कुकुर र सम्झनाको शव, तेस्रो तलामा सुशान्त तथा माथिल्लो तलामा सुदिपको शव फेला परेपछि प्रहरीलाई खबर गर्नुभएको थियो । मृतकका भाइ सुदिपका अनुसार घरको पहिलो तल्लादेखि माथिका सबै तलाको ढोकामा चुकुल नलगाएको अवस्था थियो ।
मृतकको घरसँगै बस्ने लक्ष्मी लामाले तीन दिनदेखि उक्त घरका परिवार बाहिर ननिस्किएको जानकारी दिए । तीन दिन अघिसम्म मृतकका परिवारले किराना पसल खोलेको र दिउँसोदेखि पसल बन्द रहेको जानकारी दिदै उहाँले लकडाउनका कारण पसल बन्द गरेर बाहिर ननिस्किएको हो कि भन्ने लागेको बताए । मृतकको अवस्था र शव गन्हाएकाले घटना केही दिन अगाडि घटेको हुनसक्ने प्रहरीको अनुमान छ ।
घट्नास्थललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो, अपराध अनुसन्धान महाशाखाको अनुसन्धान विज्ञ टोलीसहितले राति ८ः३० बजेपछिसम्म घटनास्थलमै रहेर अनुसन्धान गरेको छ । महानगरीय अपराध महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दीपक थापाले घरका तीन जनाको शंकास्पद मृत्यु भएको पाइएको जानकारी दिए कुनै धारिलो हतियार प्रयोग गरेर हत्या गरेको नपाइएको जानकारी दिँदै उहाँले अनुसन्धान जारी रहेकाले अहिले नै यही हो भनेर भन्न नसकिने बताए ।
प्रतिक्रिया