बिहीबार, जेठ १०, २०८१

माल्दिभ्समा नेपाली श्रमिक पठाउनेबारे श्रममन्त्री श्रेष्ठ र राजदूतबीच छलफल

नेपालखोज २०७८ फागुन १९ गते २१:१२

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि माल्दिभ्सका नवनियुक्त राजदूत डा. हसन नियाजले शिष्टाचार भेट गरेका छन् । ललितपुरस्थित निवासमा आज भएको भेटवार्तामा उनिहरूबीच नेपाल–माल्दिभ्सश्रम समझदारीको तयारीका साथै दुई देशबीचको आपसी सम्बन्ध र दुई पक्षीय चासोबारे छलफल भयो ।

भेटवार्तामा मन्त्री श्रेष्ठले नेपाली डाक्टर तथा नर्सहरुलाई माल्दिभ्समा रोजगारी उपलब्ध गराउन माल्दिभ्स सरकारबाट प्राप्त अनुरोधलाई नेपाल सरकारले सकारात्मक रुपमा लिएको बताए । पछिल्लो समय माल्दिभ्समा रोजगारीका लागि जाने नेपालीको संख्या बढ्दै गएको छ । माल्दिभ्समा ५ हजार भन्दा धेरै नेपाली श्रमिक कार्यरत छन् ।

मन्त्री श्रेष्ठले मेडिकल क्षेत्र बाहेक पर्यटन, निर्माणलगायत क्षेत्रमा पनि नेपाली श्रमिकलाई हुन सक्ने रोजगारीको अवसरबारे चासो राखेका थिए । नेपाली डाक्टर तथा नर्सहरुलाई माल्दिभ्सको सरकारी अस्पतालहरुमा रोजगारी उपलब्ध गराउन नेपाल–माल्दिभ्स श्रम समझदारी पत्रको मस्यौदालाई अन्तिम रुप दिने तयारी भइरहेको छ । अहिले माल्दिभ्सका विभिन्न स्वास्थ्य संस्थामा दुई सय भन्दा धेरै नेपाली डाक्टर तथा नर्सहरु रहेका छन् ।

उनीहरुले माल्दिभियन मुद्रामा आफ्नो पारिश्रमिक प्राप्त गर्ने र स्थानीय बैंकहरुले मुद्रा विनिमयको सुविधा नदिंदा अनौपचारिक बजारमा महंगो दरमा अमेरिकी डलर किन्नुपर्ने बाध्यता रहेको बताउँदै मन्त्री श्रेष्ठले माल्दिभियन बैंकहरु मार्फत डलर विनिमयको सुविधा दिन आग्रह गरे । मन्त्री श्रेष्ठले नेपालमा चिकित्सा अध्ययनका लागि माल्दिभ्सका विद्यार्थीहरुलाई अवसर दिन यसअघि भएको शैक्षिक सहयोग सम्बन्धी सम्झौता नविकरण गर्न नेपाल सरकार सकारात्मक रहेको बताए । कोरोना भाइरस महामारीमा माल्दिभ्स सरकारले दुई लाख डोज खोप उपलब्ध गराएकोमा पनि उनले माल्दिभ्स सरकारलाई धन्यवाद दिए ।

सन् १९८० मा कुटनीतिक सम्वन्ध स्थापना भएदेखि नेपाल–माल्दिभ्सबीच घनिष्ट सम्बन्ध रहेको छ । मन्त्री श्रेष्ठले दुवै देश सार्कका सक्रिय सदस्य राष्ट्र रहेको बताउँदै नवनियुक्त राजदुत नियाजको कार्यकालमा द्विपक्षीय सम्बन्ध अभिवृद्धि हुने विश्वास व्यक्त गरे । सो अवसरमा राजदुत नियाजले माल्दिभ्समा रहेका नेपाली श्रमिकको समस्या समाधानका लागि पहल गर्ने बताए ।

प्रतिक्रिया