नेकपा संगठन विभाग बैठक : मंसिरभित्र सदस्यता नवीकरण गरिसक्ने कार्ययोजना

नेपालखोज २०७७ भदौ २८ गते १७:२४

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संगठन विभागले मंसिर मसान्तभित्र सदस्यता नवीकरण सक्ने कार्ययोजना बनाएको छ ।

संगठन विभागको बैठक आज पार्टी मुख्यालय धुम्बाराहीमा बसेको थियो । आज बसेको बैठकले असोज मसान्तभित्र पार्टी सदस्यहरूको विवरण संकलन, कात्तिक मसान्तभित्र अद्यावधिक, मंसिर मसान्तभित्र नवीकरण गरिसक्ने गरी तीनमहिने कार्ययोजना तय गरिएको गण्डकी प्रदेशमा इन्चार्ज तथा विभागका सदस्य पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

यसअघि नेकपाको दोस्रो केन्द्रीय कमिटी बैठकले चैत मसान्तभित्रै नवीकरण सक्ने कार्ययोजना बनाएको थियो । तर, कोरोना सङ्क्रमण बढ्दै जाँदा सङ्गठनात्मक काम प्रभावित बनेको थियो ।

आज बसेको बैठकले भदौ २६ गते सकिएको स्थायी कमिटी बैठकले पारित गरेको सङ्गठनात्मक कामहरू पनि अध्ययन गरेको र त्यसलाई कार्यान्वयन गर्ने निर्णय गरेको गुरूङको भनाइ थियो ।

प्रतिक्रिया