शुक्रबार, वैशाख १२, २०८२

उद्योगीले कर तिर्ने समय एक महिना थप्न राष्ट्रपतिलाई आग्रह गरे

नेपालखोज २०७७ भदौ २८ गते १७:५३

काठमाडौं। नेपाल उद्योग परिसंघले कर तिर्ने समय एक महिना थप्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन् ।

परिसंघका प्रतिनिधिमण्डलले शनिबार राष्ट्रपति भण्डारीलाई भेटेर उद्योग प्रतिष्ठानले समयमै कर तिरेर सहयोग गरेको बताउँदै तर अहिलेको असहज परिस्थितिमा समयावधिभन्दा एक महिना बढीको समय थपको व्यवस्था गरिदिन आग्रह गरे।परिसंघका प्रतिनिधिमण्डलले भने, ‘यसबाट निषेधाज्ञा जारी भएको अवस्थामा कर दाखिला गर्नबाट बञ्चित उद्योगी व्यवसायीलाई सहज हुन्थ्यो ।

उनीहरुले भेटमा भने उद्योगीले सुरक्षाको मापदण्ड अपनाएर उद्योग व्यवसाय संचालन गर्न तयार रहेको बताउँदै कुनै कर्मचारीलाई कोरोना संक्रमण भएमा तत्काल परीक्षण गरेर उद्योग संचालन गर्न पाउने व्यवस्था गरिदिन समेत आग्रह गरे। ‘यदि उद्योगमा कार्यरत कर्मचारी वा कामदारमा संक्रमण देखिएका कन्ट्याक ट्रेसिङका आधारमा पिसिआर परीक्षण गराएर बाँकी कामदारबाट उद्योग संचालनको व्यवस्था मिलाउनु उपयुक्त हुन्छ’।

पर्यटन क्षेत्रलाई व्यवस्थित गर्दै होटल तथा पर्यटक गन्तब्य पूर्ण रूपमा संचालनमा ल्याएर नेपाल आउने पर्यटकलाई तीन दिन मात्रै क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्नुपर्ने उनीहरुले माग गरेका छन्। ‘नेपाल प्रवेश गर्दा हाल भएको १४ दिनसम्मको क्वारेन्टाइनको व्यवस्थालाई परिमार्जन गरि तीन दिनको क्वारेन्टाइनको व्यवस्था गर्नुपर्छ,’ राष्ट्रपति समक्ष उनीहरुले भनेका थिए, ‘तीन दिनको क्वारेन्टाइनपछि सम्वन्धित पर्यटकको पिसिआर परीक्षण गर्न लगाउने र नेगेटिभ आएमा निर्वाध रूपमा घुमफिरको व्यवस्था हुनुपर्छ।’

भेटमा परिसंघका अध्यक्ष सतिशकुमार मोर, वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाल र उपाध्यक्षद्वय अनुज अग्रवाल र निर्वाण चौधरी सहभागी थिए।

प्रतिक्रिया