१५४६.३१ विन्दुमा शेयर बजार , तीन घण्टामा २ अर्ब १६ करोडभन्दा बढीको कारोबार
काठमाडौं । सोमवार तीन घण्टाको कारोबार अवधिमा नेप्से परिसूचक १ हजार ५४६ दशमलव ३१ विन्दुमा पुगेको छ ।
यस अवधिमा परिसूचक ९ दशमलव शून्य ७ अंक बढेको हो । तीन घण्टामा १८८ कम्पनीको ३२ हजार ६९ पटकको व्यापारमा २ अर्ब १६ करोड ५९ लाख ४२ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । कुल कारोबारमा सर्वाधिक रकमको हिस्सा नेपाल पुनर्बीमा कम्पनीको रहेको छ । सोमवार तीन घण्टामा नेपाल पुनर्बीमा कम्पनीको १३ करोड ३२ लाख ८ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको हो ।
यस अवधिसम्म काराबारमा आएको १२ समूहमध्य जलविद्युत समूहको परिसूचक सबैभन्दा बढी १ दशमलव ८८ प्रतिशत बढेको छ । धितोपत्र दोस्रो बजारमा कम शेयरमूल्य रहेको जलविद्युत समूहका कम्पनीहरुको शेयरमा लगानीकर्ताहरु आकर्षित भएको देखिन्छ । यस दिन अरुणभ्याली हाइड्रोको शेयरमूल्य १० प्रतिशत बढेर कारोबार भएको छ ।
नेप्से परिसूचकसँगै सोमवार ठुला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ५१ अंक बढेर ३०६ दशमलव ४७ विन्दुमा पुगेको छ ।
प्रतिक्रिया