बिहीबार, वैशाख १३, २०८१

कोरोनाबारे स्वार्थ समूहहरूको भ्रमपूर्ण अभिव्यक्तिले आमनागरिकमा फैलाएको निराशा

नेपालखोज २०७७ भदौ ३० गते २०:०४

विश्व समुदायमा जस्तै नेपालमा पनि कारोनाको कहर बढेसँगै केहि महिनादेखि यसको सन्दर्भमा निकै चर्चा परिचर्चा चलिरहेको छ । यस सङ्क्रमणलाई विश्व स्वास्थ्य संघले माहाव्याधीको संज्ञा दिईएको छ । एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने र यसले समुदायलाई नै सङ्क्रमित बनाउने भएकाले रोकथामको लागि उचित तरिकाले सँधै माक्सको प्रयोग गर्नु, एकअर्काबीच कम्तिमा पनि १ मिटरको भौतिक दुरी कायम राख्नु र बेलाबेलामा साबुन पानीले मिचिमिची २० सेकेन्डसम्म हात धुनु वा सेनिटाइजरको प्रयोग गर्नु अत्यन्तै आवश्यक छ भन्ने समाचारहरु निरन्तर सुन्न पाइन्छ । सङ्क्रमण बढ्दै गएसँगै यस्ता समाचारहरू पनि बढ्दै जानु स्वाभाविकै हो । ‘कोरोना समस्या होइन बरु यसको नाममा व्यवसाय गर्न खोजिएको हो’ भनेर विरोध गर्नेहरु पनि प्रसस्तै भेटिन्छन् । ‘कोरोना सङ्क्रमण हुन सक्ने हाउगुजी बढाएर व्यापार र भ्रष्टाचार गर्ने रणनीति मात्र हो’ भनेर भन्नेहरुको पनि कमी छैन । सत्य र अफवाहका बीच भिन्नता छुट्याउन आम सर्वसाधारणहरुलाई निक्कै गाह्रो परेको छ । यसैबीच अज्ञानता र सही सूचनाको कमीले गर्दा स्वार्थ समूहहरूले सर्वसाधारणहरूलाई ठगी पर्ने र कालोबजारी गरेर मुलुकलाई नै आर्थिक नोक्सानी पु¥याएका खबरहरु पनि बाहिर आएका छन् ।

सरकारले घोषणा गरेका बन्दाबन्दीका कारण आममानिसको दैनिकी कष्टकर बन्दै गएको छ । सङ्क्रमण नियन्त्रणका लागि गरिएको लामो लकडाउन, सटडाउन साथै निषेधाज्ञाले सम्पूर्ण शैक्षिक संस्थान, अर्थतन्त्र तथा सामाजिक क्षेत्र ठप्प भएसँगै यसबाट दीर्घकालीन असर पर्ने निश्चित छ । कोरोना सङ्क्रमण र यसले निम्त्याएको अवस्था अकल्पनीय भएकाले यो माहामारी कहिले, कसरी र कति समयसम्म रहन्छ भनेबारे पनि कुनै टुङ्गो छैन । यसै अन्योलताका बीच कोरोना सङ्क्रमणसँग सम्बन्धित विभिन्न समाचार र अफवाहले जनमानसमा अन्यौलता थपिदिएको छ । दैनिक पत्रपत्रिका तथा अनलाईनमा छापिने समाचार र सामाजिक सञ्जालमा छाउने अनेक बिचार, विश्लेषण र टीकाटिप्पणीमध्ये कुन सही र कुन गलत भनी छुटया्उन मुस्किल छ । दिनदिनै सुनिने यस्ता खबरहरूबाट सर्वसाधारणहरू रनभुल्लमा परेका देखिन्छन् । यस्तै केही कपोकल्पित व्यक्तिगत विचार र अफवाहपूर्ण समाचारहरुले समाजमा पारेको असहज अवस्था, सरकारले गरेको प्रयास र कोरोनासम्बन्धी केही जानकारीको विश्लेषण गर्ने सानो प्रयास यस लेखमार्फत् गरिएको छ ।

कोरोनासम्बन्धी भएका टिकाटिप्पणी केही घटनाहरु यस प्रकार छन् :

घटना ‘एक’
एक नीजि विद्यालय सञ्चालक पुरुष चियापसलको आँगनमा बसेर वरपरका ३/४ जनाबीच बम्किँदै थिए, “कोरोनाले बालबालिकालाई छुँदै छुँदैन । आवश्यक सुरक्षा विधि अपनाएर विद्यालय चलाउन दिनु पर्ने हो । सरकार यस विषयमा गम्भीर नै छैन । बालअधिकारको हनन् भइरहेको छ । घरमा मात्रै बस्नु परेकोले बालबालिका बिग्रन थालिसके । अभिभावकलाई पनि यसमा मतलब नै छैन । सरकारलाई विद्यालय चलाउन दबाब दिनुपर्ने त आखिर अभिभावकहरूले नै हो । हामी त वातावरण बने विद्यालय संचालन गर्ने न हो । हामी आफै डुब्न लागेको बेलामा शिक्षकलाई भने कामै नगराई तलब दिनुपर्ने रे ! विद्यालय ठप्प भएपछि आर्थिक स्रोत के नै हुन्छ र ! सरकारले सहयोग गरे तलब दिने हो नत्र हामीले कहाँबाट ल्याएर दिने ।” उनलाई सुनिरहेका केही व्यक्तिहरु पनि हो मा हो मिलाउँदै थिए ।

उदाहरण ‘दुई’
“कोरोनाले मर्ने, कि भोकै मर्ने ? कमाई भएन भने मजदुरहरू त भोकभोकै मर्ने भए नि । त्यसैले आवश्यक सुरक्षा अपनाएर उद्योग, कलकारखाना सञ्चालन गर्न दिनुपर्छ । कहिलेसम्म मजदुरहरूलाई तलब दिएर राख्ने ? अबदेखि तलब सलब दिन सक्दिन म ।” उनी थिए गलैंचा कारखानाका सञ्चालक ।

घटना ‘तिन’
“यो कोरोना सोरोेना केही होईन, बेकारमा मान्छेलाई आतङ्कित बनाएर देशको अर्थतन्त्र खत्तम पारिसके । मर्ने मर्छ, बाँच्ने बाँच्छ, सबैतिर खुल्ला गर्नुपर्छ । काल आएको छ भने कसैले रोक्न सक्दैन । देशलाई धानेकै पर्यटन व्यवसायले हो, यो व्यवसाय धराशाही भयो भने देश कहाँ पुग्छ कसैलाई थाहा छैन । यातायात, होटल र हवाईसेवा तत्काल सञ्चालन गर्न दिनुपर्छ” उनी थिए काठमाण्डौं बसपार्क छेउका एक होटल व्यवसायी ।

घटना ‘चार’
“यो कोरोनाबाट जसरी पनि बाँच्नुपर्छ । जेजे गर्नु पर्ने हो अर्काे साल गरौँला । मान्छे नै मर्न त दिनु भएन नी ! हवाइजहाज साथै यातायात खुल्लमखुल्ला सञ्चालन गर्न दियो भने हजारौँ मान्छेको ज्यान जान्छ । हामीले लास पनि व्यवस्थापन गर्न सक्दैनौँ । त्यसैले कोरोना पूर्ण रुपमा नियन्त्रण नआएसम्म निषेधाज्ञा जारी राख्नुपर्छ । यस्तो माहामारीमा अलि दुःख त सहनु प¥यो नी । ”उनी थिए काठमाडौंमा तरकारी खेती गर्ने एक किसान ।

घटना ‘पाँच’
“ईम्यूनिटी पावर चाहिन्छ, पोषिलो खानेकुरा खाउ भन्छन्, तर हामीलाई कामै गर्न दिँदैनन् । काम नै गर्न नदिने, पसल खोल्नै नदिने भएपछि जनताले कसरी पोषिलो खानेकुरा खान पाउँछन् ? हिजो रोजगारमा भएका सबै वेरोजगार भएका छन् । टाढै बसेर व्यापार गर्दा के नै बिग्रिन्छ र ! महिनैपिच्छे पसलको भाडा तिरेका तिर्यै छौँ, हाम्राे व्यवसाय त बर्बादै, भो यो सरकारले केही गर्न दिएन ।” उनी थिए न्यूरोड गेट छेउमा गुँदपाक र पुष्टकारी बेच्ने व्यापारी ।

यी त भए आफ्नो गुजारा चलाउन कोरोनाको कहरमा पनि हल्लामा लागेका स्वार्थ समूहहरूका केही पूर्वाग्रहसहितका अभिव्यक्तिहरू । हालको अवस्थामा मिडिया हाउस, ठूलाठूला व्यापारीहरू, सामाजिक सञ्जाल, शिक्षण संस्थाहरू लगायतले पनि आ‑आफ्नै डम्फु बजाउँदै हिँडेको देख्न सकिन्छ । ठूलो रकम असुलेर कोरोनाको उपचारमा सङ्लग्न अस्पताल र तिनका सञ्चालकहरूको पनि आफ्नै तर्क छ । सत्ता सञ्चालनको जिम्मा बोकेका सम्माननीय ब्यक्तिले दिएको ‘बेसारपुराण’ र ‘हाछ्युँ प्रविधि’ जस्ता लजास्पद अभिव्यक्ति पनि यसैकोटीको एक अफवाह नै होला भनेर जनताले पत्याउन छाडिसके । यस्ता कुराले सरकार पटक पटक आलोचित बन्नुपरेको छ ।

सानाहरूको झिङ्गेदाउदेखि देशका ठूला भनाउँदाहरूको पार्टी र सत्ता हात पार्ने दाउमा समेत कोरोनाको कहरले सहयोग पुर्याएको देखिन्छ । कोरोनाको कहर आम जनसमुदायको लागी अभिशाप भएको छ भने केही मुठ्ठीभरलाई कमाउने अवसर भएको छ । अभिशाप खेप्नेहरूको कारुणीक कथादेखि अवसर छोपेर फाइदा लिनेहरूको बेतुकको अभिव्यक्तिले आमनागरिकमा निरासा फैलिएको छ । त्यस्तै, राज्य सञ्चालनको महत्वपूर्ण जिम्मेवारी लिएकाले नै ‘कोरोना नियन्त्रणमा नेपाल सरकारले उदाहरणीय कार्य गरेको र सरकारको त्यो कार्य नदेख्नेहरुलाई मोतिबिन्दु लागेको हो’ भनेर दिएको कूतर्कले त झन कोरोनाको कहरले बनाएको आलो घाउमा नुन छर्केर हाँसिमजाक गरेको छ । जनसरोकारको विषयलाई लत्याएर फाल्तुको विषयमा जनताको ध्यान आकर्षित गर्न सरकार कहिले राम मन्दिरको कुरा गर्छ त कहिले कथित राष्ट्रबादको ढ्याङ्ग्रो पिट्छ । यसले सरकार जनस्वास्थ्यप्रति थोरै पनि गम्भीर नभएको देखाएको छ । असहज परिस्थितिमा आफ्नै गाँउ फर्केका युवाहरुले बाँझो जमिनलाइ उर्भर त बनाए तर समयमा रासायनिक मलको अभाव हुँदा उक्त मेहेनतको प्रतिफल नआउने हो कि भन्ने डरमा छन् ।

एकातिर कारोना एक सामान्य रुघाखोकी मात्र हो, माक्स र सेनिटाईजरको प्रयोगले शरीरमा नकारात्मक असर गर्छ भन्दै अभियान सञ्चालन गरेर हिँड्नेहरुको कमी पनि छैन भने अर्कोतिर कोरोनाको डर देखाएर त्रासको मनोविज्ञानबाट भरपुर फाईदा उठाउनेहरू पनि सलबलाई रहेका छन् । यस्ता सूचनाहरुले जनतालाई हतोत्साही र निराश बनाउने काम गरिरहेको छ । यस्ता अतिवादले जनताको मनमा पारेको भ्रमलाई चिरेर कोरोनाबारे सत्य सूचनाहरु दिन निक्कै जरुरी छ ।

सत्यतथ्य सूचनामा पहुँच पाउनु आमनागरिकको मौलिक हकभित्र पर्दछ भने नागरिकलाई सुसूचित गर्नु राज्यको कर्तव्य पनि हो । साथै, व्यक्तिगत लाभ लिनका लागि स्वार्थपूर्ण तरिकाले गलत सूचना प्रवाह गरी जनमानसलाई भ्रममा पार्नु र उनीहरुमा त्रास बढाएर लाभ लिनु अपराध हो । यस्तो गलत क्रियाकलापलाई नियन्त्रण गर्नु र तेस्ता अपराधीहरुलाई कडा कारवाही गर्नु राज्यको जिम्मेवारी हो । वर्तमान अवस्थामा सरकारले आफ्नो जिम्मेवारी पुरा गर्न सकेको त छैन नै त्यसमाथि सरकारका प्रतिनिधिहरु नै भ्रमपूर्ण सूचना प्रवाह गरेर आमनागरिकलाई त्रासको वातावरणमा पुग्न वाध्य बनाइराखेका छन् । यस्ता गलत कार्यहरु तुरुन्तै रोकिनु पर्दछ । यसको लागि विज्ञ र सचेत व्यक्तिहरुको भूमिका अपरिहार्य हुन्छ ।

लेखक कार्यमूलक अनुसन्धान अभियान सञ्चालन गरिरहेको सगुन संस्थासँग आवद्ध छन्

प्रतिक्रिया