लामो दुरीका सवारी साधन आजदेखि सञ्चालन
काठमाडौं । विश्वभरि महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले ६ महिनाअघि गरेको लकडाउनसँगै बन्द भएका लामो दुरी तथा अन्तरजिल्ला सञ्चालन हुने सार्वजनिक सवारी साधन आजदेखि खुल्ला भएका छन् ।
मन्त्रिपरिषद्ले १ असोजदेखि लामो दुरीका सवारी साधन सञ्चालन गर्न अनुमति दिएसँगै यातायात व्यवसायी र मजदुरहरू आजदेखि सार्वजनिक सवारी साधन सञ्चालन गर्न तयार भएका हुन् ।
सरकारले आजदेखि लामो दुरीका सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात सम्बद्ध तीनवटै ट्रेड युनियनका प्रतिनिधिले बुधबार सिंहदरबारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङसँगे भेट गरेका थिए । भेटपछि उनीहरूले सामूहिक विज्ञप्ति जारी गर्दै यातायात सञ्चालन गर्न दिने निर्णयप्रति सरकारलाई धन्यवाद ज्ञापन गरेका थिए ।
व्यवसायीहरूले आज बिहानसम्म बस सञ्चालनको कार्यविधि उपलब्ध गराउन पनि माग गरेका छन् । यसअघि मन्त्रिपरिषद्ले लामो दुरीका सवारी साधन खुला गर्दै कार्यविधि बनाउने जिम्मा भौतिक तथा यातायात मन्त्रालयलाई दिएको थियो । बसले सिट क्षमताको आधा मात्रै यात्रु बोक्न पाउने भएकाले तोकिएको भाडादरभन्दा ५० प्रतिशत अतिरिक्त भाडा लिन सक्ने निर्णय भएको छ । सिटबाहेक अन्यत्र यात्रु राख्न पाइनेछैन ।
यात्रुले अनिवार्य रूपमा मास्क प्रयोग गर्नुपर्नेछ । यात्रु चढ्ने समयमा सवारी साधनको ढोकामा र भित्र अनिवार्य रूपमा सेनिटाइजर राख्नुपर्नेछ । चालक र सहचालकले भाइजर, पन्जा र मास्क अनिवार्य लगाएको हुनुपर्नेछ ।
दैनिक रूपमा बस डिसइन्फेक्ट गर्नुपर्नेछ । उनीहरूले चालक, सहचालक, परिचालक, बुकिङका कर्मचारीलाई मास्क, स्यानिटाइजर, पन्जा, फेस भाइजकलगायतका स्वास्थ्य उपकरण अनिवार्य रूपमा प्रयोग गर्न पनि अनुरोध गरेका छन् । श्रमिकको कोरोना बिमा गर्न बाँकी रहेका कामहरू सबै कम्पनीहरूले तत्काल गर्न गराउन पनि विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया