खाली सिलिन्डरको मूल्य २१ सय तोकियो
काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले सबै कम्पनीको खाली सिलिन्डरको मूल्य २१ सय रुपैयाँ तोकेको छ । भोलिदेखि लागु हुने गरी वाग्मती प्रदेशभित्र २१ सय रुपैयाँ भन्दा बढी लिन नपाइने अध्यक्ष गोकुल भण्डारीले बताए ।
तत्कालका लागि वाग्मती प्रदेशका लागि मात्रै यो मूल्य तोकिएपछि विस्तारै अन्य प्रदेशमा पनि तोक्ने उनको भनाई छ । उनकाअनुसार उद्योगीले सस्तोमा सिलिन्डर बेचे पनि उपभोक्तालाई महँगोमा किन्नुपर्ने बाध्यता रहेकाले सबै कम्पनीको खाली सिलिन्डरको मूल्य एकै बनाएको हो ।
सिलिन्डर २१ सय भन्दा बढीमा बेचिए तत्काल उजुरी दिन पनि उनले आग्रह गरे । संघले सिलिन्डरको मूल्य तोकेसँगै उपभोक्तालाई अनिवार्य बिल दिनुपर्ने व्यवस्था पनि गराएको छ ।
त्यस्तै संघले आफ्नो कम्पनीबाहेक अरु कम्पनीको खाली सिलिन्डर साट्नु गैरकानूनी भएको जनाएको छ । कुनै पनि कम्पनीले अर्को कम्पनीको ग्यास सिलिन्डर साट्नु गैरकानुनी भएकाले साट्नेमाथि कारबाही हुने अध्यक्ष चेतावनी दिए ।
प्रतिक्रिया