नेपाल उद्योग वाणिज्य महासंघको बिहिबार पदाधिकारी बैठक बस्दै
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को साधारणसभाको मिति तय गर्न शुक्रबार ४ बजे पदाधिकारी बैठक बस्दैछ । उक्त बैठक महासंघको सचिवालय टेकुमा हुन लागेको छ । बैठकमा साधारणसभाको मिति र मोडालिटीलाई टुंगो लगाउने जनाएको छ ।
पदाधिकारी बैठकले मोडालिटी टुंगो लगाएर साधारणसभाको सम्भावित मिति तोक्ने महासंघका एक पदाधिकारीका अनुसार बुझिएको छ । साधारणसभा र चुनाबको मोडालिटी स्वीकृतिका लागि सरकारसँग अनुरोध गरेर कार्यसमिति बैठकबाट साधारणसभाको मिति तय हुनेछ । ती पदाधिकारीका अनुसार दसैंतिहार र छठपछि मात्रै साधारणसभा हुने भएको छ । ६ महिनादेखि उद्योग व्यवसाय बन्द भएको कारण दसैंको व्यापारमा लाग्नुपर्ने भएकाले चाडपर्वपछि साधारणसभा गर्ने निर्णय हुने उनले जानकारी दिए ।
महासंघको ५४ औं वार्षिक साधारणसभाका लागि तीन वटा विकल्प दिइएको छ । साधारणसभा र निर्वाचनको मोडालिटी तय गर्न गठित समितिले तीन विकल्पमा छलफल भएर टुंगो लाग्नेछ । प्रतिवेदनमा वार्षिक साधारण सभाको उद्घाटन, बन्दसत्र र समापन कार्यक्रम भर्चुअल जुम यापमार्फत गर्न सुझाव दिइएको छ । पहिलो विकल्पमा जिल्ला-नगर, वस्तुगत, द्विर्राष्ट्रिय, एसोसिएटको प्रत्यक्ष काठमाडौंमा निर्वाचन गर्ने सुझाव दिइएको छ ।
त्यसैगरी दोस्रो जिल्ला-नगर क्षेत्रको सम्बन्धित प्रदेशमा र वस्तुगत, एसोसिएटको काठमाडौंमा गर्ने विकल्प दिइएको छ भने तेस्रो कम्प्युटराइज्ड भोटिङमार्फत गर्न सुझाव दिइएको छ । समितिले कोरोना संक्रमणको अवस्था हेरेर निर्वाचनको तीन वटा मोडालिटी दिएको हो ।
प्रतिक्रिया