शनिबार, वैशाख १५, २०८१

म पनि बन्छु हिटलर !

नेपालखोज २०७७ असोज ६ गते १५:४६

उ बेलाँ न्वारनाँ बाजेले भनेका थिए रे, यो केटो त हिटलर भन्दा पनि कडा हुन्छ ! तर, खै मट्याङ्ग्रोको पारा हेर्दा लाग्छ हिटलर हैन लेण्डुप चाहिँ होला जस्तो छ । जे पनि दिन्छु–दिन्छु भन्छ । यो पनि दे, त्यो पनि दे । हिटलर बन्न त यो पनि ले, त्यो पनि ले पो भन्नु पर्छ । वरिपरी सेनामेना तयार गर्ने हुलहुज्जत गर्ने ! तोडफोड नाराजुलुश गर्ने मण्डलेहरु तयार गर्न सक्ने पो हुन्छ हिटलर । जे पनि हुन्छ दिन्छु भन्ने पनि होला त हिटलर ।

त्यो बेलाँ न्वारन गराउने ज्योतिषी बाजेले उताबाट ल्याएको चश्मा पहिरेका रैनछन् क्यार त्यसैले बुढाले आँखा देखेनन् । लेण्डुपको ठाउँमा हिटलर भन्दिए ।

हिजो जंगलाँ बास हुँदा पर्चण्ड हिटलर जस्तै थिए । ओलीको बोलीमा परेपछि उनी पनि हिटलरबाट सिटऽलर बन्न थालेका छन् । मट्याङ्ग्रो मुर्दारलाई के थाहा हिटलर भन्दा सिटलर उत्कृष्ट भनेर । हेर त उहिले जंगलाँ हिटलर बन्दा तनावै तनाव थियो । अहिले शराँ सिटलर बनेपछि सँधै स्वस्थ, व्यस्त र मस्त ।

बाउबाजेले के गरे थाहा छैन । तर, सिटलर भएपछि सेरोफेरो सवै मेरो भनेको जस्तै भा’छ । कसैले छिसिक्क विरोध गरेपनि सुसराली घरमा सालासालीको भीड भईहाल्ने । तेरो बाउ, मेरो बाउ माछा मार्न गयो । माछा मार्न गाका बाउले भ्यागुतो पो ल्यायो भईहाल्छ ।

तर, मट्याङ्ग्रोले मान्नेवाला नै छैन यस्ता उखान टुक्का । मट्याङ्ग्रोलाई हिटलर नै बन्नु परेको छ । माछा नै मार्नु परेको छ । माछा मार्दा त पोखरी बनाउनु परो । पोखरीमा पानी जमाउनु परो । अव पानीको धेरै फाइदा । सिँचाई पनि गर्न पाईने, बिजुली पनि बनाउन पाईने । बत्ती झिलीमिली पारेर हाइड्रोवालासँग महादेवको त्रिनेत्र देखाउन पनि पाईने भएपछि मट्याङ्ग्रोको मन किन मान्थ्यो ।

अहिले दुई ‘के’ छन् केपी र कुलमान देशाँ । जसको जताततै चर्चा नै चर्चा छ । एउटाको उखान भनेरै चर्चा अर्को सालासालीलाई सुसराली घरमा पुलिसको लाठीचार्ज गराएर चर्चा । नहोस् पनि किन सुसुराली घरको आँगनमा सत्ता छाड्न पाईदैन, माकु झल्लु चाइँदैन भन्दै हजारौं सालासाली नाच्दा कोरोनाको डर पनि भएन पुलिसको डन्ठा पनि चलेन ।

अहिले कुलुलाई प्रक्रिया सक्रिया यस्तै हो, हाकिम जसरी पनि बनाउनु पर्छ भनेर त्यही ससुरालीको पिँढीमा दुइचार दर्जन सोल्टासोल्टीले गीत गाउँदा पुलिसको ठण्डा पनि भाँचियो, सोल्टासोल्टीको करङ्गको पनि राम्रै मसाज भो । त्यहाँ भन्दा केही हुन्छ ? त्यसैले होला मट्याङ्ग्रोलाई सिटलर भन्दा हिटलर बन्न मन लागेको ।

आखिर के फरक पर्छ ससुरालीको अाँगन छँदैछ । त्यहाँ बसेर सोल्टासोल्टीलाई नाचगान गराएपछि हिटलरको पद नै पाईन्छ भने एत्राको टनटन । पद भनेको त पद नै हो नि ? सिटलर भएर हिटलर भाका को छन् ? पर्चण्ड पनि जंगलाँ हिटलर भएर अहिले सिटलर भाको हो ? केपी पनि उ बेलाँ झापा काण्डमा हिटलरै थिए । अहिले सिटलर भोऽ भनेर रीस डाहा गरेर भुत्रो नाप्छ ?

ए बाबा ऽ देशाँ हावा इतिहास लेख्या छन्, पढ्नु नि वेविनार भन्दै । सिक्नुनी विदेशी कुरो । जावो एउटा कोरोना भाईरसले यत्रा सन्सार हल्लाका बेलाँ, मट्याङ्ग्रो नेपाली हिटलर बन्न नपाउने भन्ने कहाँ लेख्या छ । लालपुर्जा नै दिनु पर्ने होर ? सत्ता र शक्ति पाएपछि जे पनि गर्न छुट हुने भएकाले नै मट्याङ्ग्रोलाई हिटलर बन्ने जोश चढ्या छ । हिटलर बन्दैमा मट्याङ्ग्रोले दुईचार जनालाई टुँडिखेलमा त पक्कै झुण्ड्याउँदैन होला नि ? झुण्ड्याउनुपर्ने त जनताले तिरेको कर खाएर सेतो डिरेस लार १० बजेदेखि ५ बजेसम्म हात्तिछापे कागज खल्तीमा हाल्नेलाई हो ।

यही कारणले नेपालाँ जंगबहादुरदेखि मट्याङ्ग्रोसम्म आईपुग्दा हिटलर नै बन्नुपर्ने देखियो । ‘खाए खा नखाए घिच’ भन्दै घुस खान जानेका, कमिशन मिलाउन सिपालु, जनता ठग्न र झुठको खेती गर्न जान्ने राष्ट्रद्रोहीहरुलाई त्यसै द्याऽछ ठूल्ठूला सम्मान ! नाई ऽ मलाई त्यही केटी चाहिन्छ भनेर चिच्चाएको जस्तै हो । मलाई पनि हिटलर नै बन्नु परेको छ । जे पर्ला पर्ला चन्दा उठाईन्छ । हुलदंगा गरिन्छ । रेलिङ्ग भाँचिन्छ । अनि वार्ता गरेरै भएपनि हिटलरको पद खाईन्छ खाईन्छ । कसको बाउको के जान्छ ? कुरो बुझ्नु ससुराली घरतिर कुद्नु । उता आँगनाँ नाच्न थालिसके । अब सोल्टासोल्टी, सालासालीका दुइचारवटा टाउको फुटाएपछि त, कसो नपाईला हिटलर !

प्रतिक्रिया