बिहीबार, चैत १५, २०८०

छठलगत्तै रोकिएका सबै परीक्षा सञ्चालनको तयारी

नेपालखोज २०७७ असोज ७ गते २२:०४

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ ।

त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको हिजो बसेको बैठकले छठलगत्तै रोकिएका परीक्षा सञ्चालन गर्न तयारी गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिने निर्णय गरेको हो ।

त्रिविले विद्यार्थीलाई पायकपर्ने ठाउँबाट नै परीक्षा दिने वैकल्पिक व्यवस्थासहित छठलगत्तै परीक्षाको तयारी थाल्न निर्देशन दिइएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।

त्रिविले कोभिड–१९ का कारणले सबै रोकिएका परीक्षा छठलगत्तै गर्ने गरी दशैं अगाडि नै परीक्षाको कार्यतालिका सार्वजनिक गर्न सम्बन्धित डिन कार्यालयलाई पत्रचारसमेत गरिसकेको छ ।

त्रिविले विद्यार्थी थोरै भएका परीक्षा भने दशैँ र तिहारको बीचमा गर्नेसक्ने जनाएको छ । त्रिविले अहिले पनि न्यून सङ्ख्या भएका परीक्षा सञ्चालन गरिरहेको छ । त्रिविले फाराम भरेकाको परीक्षा पहिले गर्ने र त्यसपछि अन्य परीक्षा सञ्चालन गरिने जनाएको छ ।

प्रतिक्रिया