शनिबार, वैशाख १५, २०८१

बाह्य क्षेत्रमा वैदेशिक व्यापार ८.९ प्रतिशतले वृद्धि

नेपालखोज २०७७ असोज १२ गते १२:५९

काठमाडौं । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७/७८ को पहिलो महिनामा कुल वस्तु निर्यात ८.९ प्रतिशतले वृद्धि भई रु.९ अर्ब ६२ करोड पुगेको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २७.७ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः ४.४ प्रतिशत र २५.५ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ ७१.७ प्रतिशतले घटेको बैंकले जानकारी दिएको छ । वस्तुगत आधारमा पश्मिना, उनी गलैंचा, आयुर्वेदिक औषधी, जडिबुटी, जुटका सामान लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जुस, अलैंची, पोलिस्टर यार्न तथा अन्य धागो, जस्तापाता लगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७७/७८ को पहिलो महिनामा कुल वस्तु आयात १९.६ प्रतिशतले घटेर रु.८५ अर्ब ८१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ११.५ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १६.८ प्रतिशत, ३९.७ प्रतिशत र १०.५ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा चामल, दूरसंचारका उपकरण तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, कोइला, खाने तेल लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, अन्य मेसिनरी तथा पार्टपुर्जा, एम.एस. बिलेट, हटरोल सीट लगायतका वस्तुको आयात घटेको छ ।

नर्याततर्फ वीरगञ्ज, भैरहवा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नेपालगञ्ज, मेची र कृष्णनगर भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यातमा ह्रास आएको छ । आयाततर्फ भैरहवा, नेपालगञ्ज, कृष्णनगर, कैलाली, तातोपानी र कंचनपुर भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ ।

आर्थिक वर्ष २०७७/७८ को पहिलो महिनामा कुल वस्तु व्यापार घाटा २२.२ प्रतिशतले घटी रु.७६ अर्ब १९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १३.९ प्रतिशतले ह्रास आएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ११.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.३ प्रतिशत रहेको थियो ।

वार्षिक विन्दुगत आधारमा २०७७ साउन महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क (Unit Value Index) ०.५ प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकाङ्क ३.८ प्रतिशतले घटेको छ । २०७६ साउन महिनामा ३.१ प्रतिशतले बढेको व्यापारको शर्त (Terms of Trade) २०७७ साउन महिनामा ४.४ प्रतिशतले बढेको बैँकले जनाएको छ ।

 

प्रतिक्रिया