शुक्रबार, चैत १६, २०८०

सहकारी समाजवादको पाठशाला भएकाले सहकारीको प्रवद्र्धनमा ध्यान दिनुपर्छ: पूर्व गृहराज्यमन्त्री बाँस्कोटा

नेपालखोज २०७७ असोज १२ गते १८:२२

काठमाडौं । राष्ट्रिय सहकारी महासंघ नेपालका पूर्व अध्यक्ष तथा पूर्व गृहराज्यमन्त्री दिपक प्रकाश बाँस्कोटाले सहकारी समाजवादको पाठशाला भएकाले राजनीतिक दलहरुले सहकारीको प्रवद्र्धनमा ध्यान दिनुपर्नेमा जोड दिएकाछन् ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडको तदर्थ समितिका संयोजक समेत रहेका बाँस्कोटाले सोमबार सहकारी बैंकले आयोजना गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुुन । सहकारी जति सफल भयो समाजवाद त्यति दिगो हुन्छ, बाँस्कोटाले भने, संविधानको प्रस्तावनामा समाजवाद उन्मुख राज्य बनाउने भनेर मात्रै हुदैन, त्यसको विकासका लागि सहकारी क्षेत्रको प्रवद्र्धन अपरिहार्य छ ।

जनतालाई आर्थिकरुपमा सक्षम बनाउनदेखि प्रजातान्त्रिक अभ्यासमा समेत सहकारीको महत्वपूर्ण भूमिका रहदै आएको छ, तर सहकारी क्षेत्रले जनतालाई वित्तीय रुपमा सक्षम बनाउन, सामाजिक रुपमा सचेत बनाउन खेलेको भूमिका प्रति राज्यका निकायहरु संवेदनशिल बन्न सकिरहेका छैनन्, बास्कोटाको भनाइ थियो ।

सहकारी बैंकले देशका १२ हजार भन्दा बढी सहकारीहरुलाई एकत्रित गरी सहकारी क्षेत्रका प्रवद्र्धनमा योगदान गरेको छ, देशभरका सहकारी संघ संस्थाहरुले यस्तै काम गरेका छन, तर यसलाई प्रभावकारी सञ्चालनका लागि राज्यका तर्फबाट सहयोग नभएको गुनासो उनको गुनासो थियो । वित्तीय रुपमा सक्षम बन्दै गएको, देशभर सञ्जाल भएको र गरिवी निवारणमा योगदान गर्दै आएको सहकारी बैंकलाई क्लियरिङ हाउसको सदस्यता दिन के ले छेकेको छ ? मैले बुझ्न सकेको छैन, बास्कोटाले भने, राज्य सञ्चालकहरु जहिलेसम्म सहकारीमैत्री बन्न सक्दैनन्, त्यतिबेलासम्म समाजवादको परिकल्पना साकार हुन सक्दैन ।

सहकारी बैंकलाई संघीय ढाचामा लैजान सुझाव दिदै बास्कोटाले सहकारी क्षेत्रमा अनावश्यक प्रतिस्पर्धा भन्दा पनि सेवालाई प्राथमिकता दिएर अगाडि बढ्न सहकारीकर्मीहरुलाई सुझाव दिए । सहकारी क्षेत्रको राष्ट्र बैकका रुपमा राष्ट्रिय सहकारी बैंंकलाई स्थापित गर्न सबैको सहयोग र सहकार्य आवश्यक रहेको उनको भनाई थियो ।

कार्यक्रममा बैंकका पूर्व लेखा समितिका सदस्य कुलचन्द्र अधिकारी, पूर्व सञ्चालकहरु विजयराज घिमिरे, भागवत श्रेष्ठ, गोविन्द बहादुर मल्ल, मुक्तिनाथ पाण्डे, डिल्ली तिवारी, डा. विदुर चालिसे, मुकुन्द दाहाल, राम शरण शर्मा घिमिरे, पूर्व लेखा समितिका सदस्य सागर नेपाल, कुमार खत्री लगायतले सहकारी क्षेत्रको योगदान बढाउन सहकारी बैंकले गरेको काम सह्रानिय भएको बताए । उनीहरुले सहकारीकर्मीहरुको सहभागिता र सक्रियतामा सहकारी बैंक स्थापित भएको भन्दै राज्यको ध्यानाकर्षण गर्नका लागि थप योजना बनाएर सबैलाई सहभागी गराई अगाडि बढ्न सुझाव दिए ।

कार्यक्रमको शुरुवात गर्दै बैंकका अध्यक्ष के.बी. उप्रेतीले संस्थापक लगायत पूर्व सञ्चालकहरुको सल्लाह, सुझाव र सहभागितामा सहकारी बैंकलाई मुलुकको आर्थिक रुपान्तरणका महत्वपूर्ण साझेदार संस्थाका रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले बैंकको पछिल्लो अवस्था र आगामी योजनाका बारेमा जानकारी गराउदै देशभरका सहकारीलाई दीगो रुपमा सञ्चालनमा सहयोग गर्न बैंक सक्षम भएको बताए । बैंकको प्रगति समिक्षा एवम् भावि कार्यदिशा ः संभावना र चुनौती विषयक कार्यक्रममा बैंकका पूर्व तथा निवर्तमान सञ्चालक र लेखा समितिका पदाधिकारी तथा सदस्यहरु र वर्तमान सञ्चालक समिति एवम् उच्च व्यवस्थापनका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया