नेकपा सचिवालय बैठक आज बस्दै
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्ने भएको छ । अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच हिजो बिहान भएको भेटमा सचिवालय बैठक बोलाउने सहमति भएको हो ।
प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा (जुगल) काअनुसार सचिवालय बैठक आज अपराह्न ४ बजेका लागि बोलाइएको छ । बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक र राजनीतिक नियुक्ति, सांगठनिक एकताको बाँकी प्रक्रियालगायतका विषयमा छलफल हुनेछ । मन्त्रिपरिषद् पुनर्गठन गर्न सत्तारूढ दल नेकपाका दुई अध्यक्ष लगातार छलफलमा बसे पनि मापदण्डको टुंगो लागेको छैन् ।
उपाध्यक्ष वामदेव गौतमलाई सरकारमा सहभागी गराउने, नगराउनेमा देखिएको मतभेदले पनि सहमति जुट्न सकिरहेको छैन् । सर्वोच्चले संवैधानिक इजलासमा बुधबार बहस नसकिएपछि शुक्रबारका लागि पेसी तोकेको थियो। फैसलाले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पनि प्रभावित पार्नेछ ।
गौतम र श्रेष्ठलाई सरकारमा सहभागी गराउन चाहन्छन् प्रचण्ड । वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पनि दाहालकै पक्षमा उभिएका छन् । ओलीले भने सरकारको नेतृत्व आफूले गर्ने भएकाले सहयोगी हुने नेतालाई सरकारमा लान र राख्न पाउनु पर्ने बताएको स्रोतले जनाएको छ ।
सरकारले बिहीबार शंकरदास बैरागीलाई मुख्य सचिव, डा. युवराज खतिवडालाई अमेरिका र लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो । नियुक्तिलाई लिएर नेकपाका कतिपय नेताहरुले असन्तुष्टि जनाएका छन् । सबै विषयलाई सचिवालय बैठकमै छलफल गर्ने अध्यक्षद्वयबीच सहमति बनेको नेकपा स्रोतले जनाएको छ । आजको अन्नपूर्णबाट

प्रतिक्रिया