६ करोडको लागतमा निर्माण हुँदै धर्मशीला बुद्धबिहार

नेपालखोज २०७७ असोज १८ गते ८:५३

पोखरा । पोखरा–३ नदीपुरमा निर्माण हुँदै गरेको धर्मशीला बुद्धबिहार भवन निर्माण सम्पन्न गर्न सरकारी बजेट उपलब्ध गराउन धर्मशीला बुद्धबिहारका प्रतिनिधिले माग गरेका छन् ।

करिब ६ करोडको लागतमा निर्माण हुन लागेको उक्त भवन निर्माणकार्य हालसम्म करिब ३० प्रतिशतमात्र सम्पन्न भएकाले बाँकी काम पूरा गर्न सरकारी बजेट आवश्यक भएको धर्मशीला बुद्धबिहार भवन निर्माण समितिका संयोजक भरतराज शाक्यले बताए । उनका अनुसार हालसम्म करिब २ करोडको लागतमा भुइँतलासहितको दुई ढलानको ३० प्रतिशत निर्माणकार्य सम्पन्न भएको छ ।

भुइँतलासहित ४ तले भवन निर्माण हुने संयोजक शाक्यले बताए । करिब ३ वर्षअघि जमिन भासिएर पुरानो भवन भत्केसँंगै हाल धर्म हल, सीमागृह ९शिक्षा दिक्षा दिने कक्ष०, ध्यान केन्द्रलगायतका लागि उक्त भवन निर्माण गर्न लागिएको बुद्धबिहारका निवर्तमान अध्यक्ष कृष्णमान गुभाजुले जनाए । भवन निर्माणमा विभिन्न दाताबाट संकलन भएको रकम निर्माणकार्यमा खर्च भएकाले हाल रकम अभाव भएको सचिव तेजेन्द्र शाक्यले गुनासो गरे ।

२०७६ सालमा सुरु भएको उक्त भवन निर्माणमा हाल दैनिक जसो ८÷१० जनामात्र कामदार भएको उनले बताए । कोरोनाका कारण आफूहरूले अपेक्षा गरेअनुरुप दाताबाट धेरै रकम संकलन गर्न कठिन भएकाले उक्त भवन निर्माणकार्य सम्पन्न गर्न स्थानीय, प्रदेश सरकारको आवश्यक बजेटको व्यवस्था मिलाउन बुद्धबिहारका अध्यक्ष गोविन्द ताम्राकार, भवन निर्माणका संयोजक शाक्यसहितको टोलीले गण्डकी प्रदेशका सांसद रामजी बरालसमक्ष माग गरेका छन् ।

निर्मार्णाधीन भवनको शनिबार अवलोकन गर्दै सांसद बरालले उक्त भवन निर्माण अभियानमा आर्थिक सहयोग उपलब्ध गराउन सम्बन्धित ठाउँमा आवश्यक पहल गर्ने बताए ।

प्रतिक्रिया