आकाशे पानी संकलनका लागि घैँटो निर्माण

नेपालखोज २०७७ असोज १८ गते १०:०५

प्युठान। प्युठानको ऐरावती गाउँपालिकामा आकाशेपानी संकलनका लागि घैँटो बनाइएको छ। पानीको समस्या रहेको यस क्षेत्रमा स्थानीयलाई पानीको सहज पहुँचका लागि घैँटो निर्माण गरिएको हो।

पानीको विकराल समस्या रहेको बिजुली क्षेत्रमा पानीको समस्या समाधान गर्ने उद्देश्यले वडा कार्यालयबाट बजेट विनियोजन गरी घैँटो निर्माण गरिएको वडा नं ६ का अध्यक्ष चन्द्रबहादुर रानामगरले बताए। वडासचिव उमाराम आचार्यका अनुसार आर्थिक वर्ष २०७४र७५ बाट घैँटो निर्माणको काम सुरु गरिएको हो।

पहिलो वर्ष १७ लाख रूपैयाँको लागतमा २७ वटा घैँटो बनाइएको थियो। त्यस्तै आव २०७५र७६ मा पाँच लाख रूपैयाँको लागतमा आठवटा घैँटो निर्माण गरिएको छ। त्यस्तै आव २०७६र७७ मा २५ लाखको लागतमा ३८ वटा घैँटो निर्माण गरिएको छ।

४२ वटा घैँटो निर्माण गर्ने गरी बजेट विनियोजन गरे पनि बन्दाबन्दीले चारवटा घैँटो निर्माण हुन नसकेको वडासचिव आचार्यले बताए। स्थानीय उपभोक्ता समितिमार्फत साढे ६ घनमिटरको घैँटो निर्माण गरिएको हो। २५ प्रतिशत स्थानीयको जनश्रमदानमा घैँटो निर्माण गरिएको आकाशेपानी सङकलन घैँटो निर्माण समितिका अध्यक्ष गिरीप्रसाद घिमिरेले बताए।

प्रतिक्रिया