शनिबार, वैशाख १५, २०८१

बाजेको सेकुवामा कस्मोपोलिटियन सेफ आवद्ध, “क्लाउड किचेन”काे तयारी

नेपालखोज २०७७ असोज १८ गते १९:३३

काठमाडौं । बाजेको सेकुवामा “प्रथम नेपाली कस्मोपोलिटियन सेफ अवार्ड”बाट सम्मानित कुमार चालिसे आबद्ध भएका छन् । २२ वर्षदेखि खाना तथा आतिथ्य क्षेत्रमा अनवरत रुपमा योगदान पुर्याउँदै आएका चालिसे असोज १५ गतेदेखि बाजेको सेकुवामा आवद्ध भएका हुन । बाजेको सेकुवालाई प्रतिनिधित्व गर्दै सन् २०१३ मा मकाउमा आयोजित खाना महोत्सवमा सेफ चालिसे “उत्कृष्ट प्रदर्शन अवार्ड”बाट सम्मानित भएका थिए ।

नेपालमा पनि उनी सन् २०१७ मा “उत्कृष्ट सेफ अवार्ड”बाट पनि सम्मानित भएका थिए । मौलिक नेपाली खानालाई विश्वमाझ परीचित गराउने लक्ष्यसहित उनले विभिन्न देशहरु जस्तै जापान, मलेसिया, बर्मा, सिंगापुर, हङ्कङ, इरान, पाकिस्तान, दुवइ, कतार, मकाउ, रसिया, बेलायत, स्विजरल्यान्ड, जर्मनी, फ्रान्स, स्पेन आदिको भ्रमण समेत गरिसकेका । उनले अष्ट्रेलिया तथा स्विजरल्यान्डबाट विभिन्न तालिमहरु पनि लिएका छन् । विगतमा पनि बाजेको सेकुवासँग परामर्शदाताका रुपमा आवद्ध भइ झानेको सेकुवा सेट, झोल मःम, मटन पक्कु लगायतका खानाको विकासमा मद्धत गरेका सेफ चालिसेले ”मल्टी कुजिन कुक बुक“, “खाना स्वच्छता किताब”, राष्ट्रिय पत्र पत्रिकामा खाना विधि तथा राष्ट्रिय टेलिभिजनमार्फत् थुप्रै सामाग्रीहरु पस्किसकेका छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फ्राञ्चाइजको आक्रामक विस्तारको योजना बनाएको बाजेको सेकुवाले ग्राहकहरुको चाहाना बमोजिम खानाहरुलाई थप गुणस्तरीय बनाउने र नयाँ–नयाँ नेपाली स्वादहरु विकास गर्ने उद्धेश्यसहित सेफ चालिसेलाई आवद्ध गराएको बताएको छ । सेफ चालिसेले आगामी फ्राञ्चाइजहरुमा ट्रेनिङ, किचेन सेटअप, नयाँ खाना विकासलगायतका कार्यहरुमा नेतृत्व गर्ने हुदाँ यसले फ्राञ्चाइजहरुमा गुणस्तरीय खाना तथा स्वच्छतामा थप एकरुपता आउने कम्पनीको दावी छ ।

बाजेको सेकुवाले हाल भइरहेको विश्वव्यापी महामारी कोभिड –१९ लाई मध्यनजर गरी स्वच्छ खसीे, कुखुरा, लोकल कुखुरा, हाँस, बँदेल, माछाका विभिन्न परिकारहरु ग्राहकहरुको घरमै पुर्याउने उद्देश्यले “बाजेको फ्रेस” सञ्चालनमा ल्याउन लागेको बताएको छ । साथै २४सै घण्टा ग्राहकलाई सेवा दिने योजनासहित “क्लाउड किचेन” सञ्चालनमा ल्याउन लागेको समेत बाजेको सेकुवाको भनाई छ । बाजेको सेकुवाले विस्तार गर्न लागेका यी व्यववसायहरुमा पनि सेफ चालिसेको सक्रिय सहभागिता रहनेछ ।

प्रतिक्रिया