पीसीआर परीक्षणको शुल्क विवाद टुंगो लगाउने जिम्मा अफिनलाई
काठमाडौं । निजी प्रयोगशालाहरुले पीसीआर परीक्षणको शुल्क विवाद टुंगो लगाउने जिम्मा निजी अस्पतालहरुको छाता संगठन एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट अफ नेपाल (अफिन) लाई दिएका छन् ।
अफिनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल गरेर नयाँ शुल्क निर्धारण नगरुञ्जेल भने निजी प्रयोगशालाले पनि पीसीआर परीक्षणको शुल्क २ हजार मात्र लिने भएका छन् । शुल्क विवाद टुंग्याउन स्वास्थ्य मन्त्रालयसँग छलफल गर्न समय लिइसकेको अफिनका उपाध्यक्ष कुमार थापाले बताए ।
स्वास्थ्य मन्त्रालयले पीसीआर परीक्षणको शुल्क २ हजार रुपैयाँ भन्दा बढी लिन नपाउने निर्णय गरेको छ । त्यही अनुगमनको रिपोर्टअनुसार मन्त्रालयको ‘इन्सिडेन्ट कमान्ड सिस्टम’ को बैठकले बुधबार ८ वटा निजी प्रयोगशाला २४ घण्टाभित्र २ हजार रुपैयाँ शुल्क कायम गर्न निर्देशन दिएको छ ।
निर्देशन नमाने स्वीकृति खारेज गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोशालालाई र कालोबजारीमा कारबाही गरी प्रयोगशाला बन्द गराउन गृह मन्त्रालय र वाणिज्य विभागलाई पत्र लेख्ने निर्णय गरेको थियो ।
सोही दिन मन्त्रालयको चेतावनीपछि शुल्कमा पुनर्विचार गर्न निजी ल्याबले शनिबारसम्मको समय दिएका थिए । उनीहरुले ३ हजार ८९९ रुपैयाँसम्ममा पीसीआर टेष्ट गर्न सकिने भन्दै मन्त्रालयलाई पत्र बुझाएका थिए ।

प्रतिक्रिया