पशुपति क्षेत्र विकास कोषको नयाँ गुरूयोजना खारेज गर्न नेता थापाको माग

नेपालखोज २०७७ असोज २१ गते १०:०३

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले पशुपति क्षेत्र विकास कोषको नयाँ गुरूयोजना खारेज गर्नुपर्ने बताएका छन्। पुरानो गुरूयोजनाको समीक्षा गर्दै सरोकारवालाको सहभागितामा अर्कै गुरूयोजना बनाउनुपर्ने थापाको भनाइ छ।

गुरूयोजनालाई लिएर पशुपति क्षेत्र विकास कार्यालय घेराउलगायतका आन्दोलन भइरहेका छन्। थापाले पशुपति विकास कोषको नयाँ गुरूयोजनाबारे टिप्पणी गर्दै बुधबार ट्वीट गरेका छन्, ‘पशुपति क्षेत्र विकास कोषको नयाँ गुरूयोजना, न त निर्माण प्रक्रिया मिल्छ न त सामग्री नै। यो गुरूयोजना नै हैन।

यसलाई खारेज गरौं।’ उनले पुरानो गुरूयोजनाको समीक्षा गरिनुपर्ने बताए। ‘पुरानो गुरुयोजनाको सम्पूर्ण समीक्षा गरौँ। तत्पश्चात् मात्रै हामी सरोकारवाला सबैको सहभागितामा वास्तविक गुरुयोजना बनाऔँ भन्ने सरकारसँग हाम्रो माग हो,’ थापाले भनेका छन्।
गुरूयोजनालगायतको विरोधमा पशुपति क्षेत्र संयुक्त संघर्ष समिति नै गठन गरेर स्थानीय बासिन्दा केही समयदेखि आन्दोलनमा छन्।

उनीहरूले आज बिहान कोषको कार्यालयमा शान्तिपूर्ण धर्ना दिँदै छन्। पशुपति क्षेत्रको वृहत्तर विकासका नाममा गुरूयोजना बनाइए पनि त्यो धार्मिक आस्था र साँस्कृतिक अवमूल्यन गर्ने खालको रहेको भन्दै विरोध भइरहेको छ। गुरूयोजना गत फागुनमै मन्त्रिपरिषदमा पठाइएको थियो।

प्रतिक्रिया