अब आइसोलेशनमा नबसे ६ महिना जेल
काठमाडौं । सरकारले कोरोना सङ्क्रमण भएर आइसोलेशनमा नबस्ने मानिसलाई ६ महिनासम्म जेलमा राख्ने चेतावनी दिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले कतिपय सङ्क्रमित आइसोलेशनमा नबसेर बाहिर निस्किएको वा काममा समेत जाने गरेको सूचना आएको भन्दै त्यस्ता व्यक्तिलाई पक्राउ गरी सङ्क्रामक रोग ऐनअनुसार कारबाही गर्ने बताए ।
स्वास्थ्य मन्त्रालयले पक्राउ गरी कारबाहीका लागि गृह मन्त्रालयलाई अनुरोध गरिसकेको भन्दै प्रवक्ता गौतमले कोरोना सङ्क्रमित भएको व्यक्ति आइसोलेशनमा बसेरनबसेको बारेमा जानकारी लिन छिमेकीहरुलाई आग्रह गरेका छन् ।
एक जना सङ्क्रमित बाहिर निस्कँदा अरु धेरैलाई सङ्क्रमणको जोखिम हुने भएकोले सङ्क्रमित व्यक्ति स्वयं सचेत हुनुपर्ने र व्यक्तिले लापर्वाही गरेमा परिवारका सदस्य तथा छिमेकीहरुले प्रहरीलाई खबर गर्नुपर्ने उनले बताए ।
यस्तै प्रवक्ता गौतमले पीसीआर परीक्षणका लागि स्वाब दिएपछि नतिजा नआउञ्जेल अनिवार्य क्वरेण्टीनमा बस्न आग्रह गरेका छन् ।

प्रतिक्रिया