‘दसैंमा भारतबाट खसीबोका ल्याउनु पर्दैन’

नेपालखोज २०७७ असोज २४ गते १३:३४

काठमाडौं । नेपालीहरुले विशेष रुपमा मनाउने महान चाड बडादशैं नजिकिँदै छ । उत्साह र हर्षोल्लासका साथ मनाइने यो पर्व नजिकिए पनि यस वर्ष भने मानिसहरु त्यति उत्साहित भने छैनन् । कोरोना संक्रमण बढिरहेका कारण दसैं मनाउन पाइने÷नपाइने भन्ने अन्यौल र संक्रमणको जोखिम पनि उत्तिकै बढिरहेकाले मानिसहरु उत्साहित नभएका हुन् । दशैं मनाउन पाएपनि अघिल्ला वर्षहरुमा जस्तो उल्लासमय वातावरण नहुने भने निश्चित छ ।

विशेषगरी दसैंमा परिवार र आफन्तहरु जमघट भई ठुलाबडा र मान्यजनबाट टिका लगाई आर्शिवाद ग्रहण गर्ने प्रचलन छ । भने यस दिन मिठो मसिनो र मासुका परिकार खाने चलन छ । वर्षभरी नै मासु उपभोग गरिने भएपनि राजधानी उपत्यकामा यो पर्वको बेला भने मासुका लागि सबैभन्दा बढी खपत हुने खसीबोका हुन् । अघिल्ला वर्षहरुमा दसैंमा सबैभन्दा बढी खपत हुने खसीबोका यस वर्ष भने कम खपत हुने आंकलन गरिएको पशु सेवा विभागका महानिर्देशक वंसी शर्माले बताए ।

कोरोना संक्रमणका कारण आर्थिक मन्दी भोगिरहेका मानिसहरुले मासु कम खाने आंकलन गरिएको हो । कोरोना महामारीका कारण धेरै मानिसले राजधानी छोडेको हुँदा पनि यस्तो आंकलन गरिएको छ । यसअघिका वर्षहरुको तुलनामा यस वर्ष मासुको खपत घटेको राजधानीमा खसीबोकाको व्यापार गर्दै आएका व्यापारी जिवन श्रेष्ठले बताए । केही वर्ष अघिसम्म नेपालमा उत्पादन भएका खसीबोकाले माग नधान्ने हुँदा भारतबाट खसीबोका आयात गर्ने गरिएको थियो । हाल भने नेपालमै उत्पादन भएका खसीबोका पर्याप्त रहेको पशु सेवा विभागले जनाएको छ । तर, गतवर्ष न्युन मात्रामा मात्रै खसीबोका आयात गरिएको विभागका महानिर्देशक शर्माले बताए ।

पशुसेवा विभागका अनुसार नेपालमा १ करोड २५ लाख हाराहारीमा हाल खसीबोका छन् । त्यसमध्येमा वार्षिक ३३ लाख खसीबोका मासुको लागि खपत हुने गरेकोमा काठमाडौंमा मात्रै ६ लाख खसीबोका वार्षिक खपत हुने गरेको छ । नेपालमा खपत हुने मासुका लागि नेपाली उपादन प्रशस्त हुने भएपनि कोरोना संक्रमणकै विचमा पनि भारतबाट खसीबोका आयात भइरहेको व्यापारीहरु बताउँछन् । मासुका लागि खसीबोका भारतबाट आयात भइरहेकाले नेपाली उत्पादन खपत हुन नसकेको पशु व्यापारी जिवन श्रेष्ठको गुनासो छ ।

व्यापारी श्रेष्ठका अनुसार दैनिक ४ सय देखि ५ सयसम्म खसीबोका भारतबाट भित्रिरहेका छन् । यसले नेपाली कृषक मारमा पारेको छन् । विभागका निर्देशक शर्माले पनि कसैले अनुमति लिएर खसीबोका आयात नगरेको भन्दै अवैधरुपमा खसीबोका भारतबाट भित्रिएको हुन सक्ने बताएका छन् । कोरोना माहामारीका कारण बजार सहज नहुँदा मारमा परेका किसानहरु यसरी भारतबाट खसीबोका आयात हुँदा अझ मारमा परेका छन् । तर, सरकारको अनुगमन फितलो हुँदा अवैधरुपमा जुनसुकै सामान ओसारपोसार भइरहेको छ । महमारीसँगै यसतर्फ पनि सरकारले ध्यान दिन आवश्यक देखिन्छ ।

प्रतिक्रिया