लकडाउनमा बढे आत्महत्याका घटना, मनोविद् भन्छन्- आशा पूरा नभए देहत्याग
काठमाडौं । नेपालमा बर्सेनि भइरहेका आत्महत्याका घटनाका तथ्यांक हेर्ने हो भने आङ नै सिरिंग भएर आउँछ । हरेक वर्ष आत्महत्याका घटना कम हुनुको साटो झन् बढ्दै गएको विभिन्न तथ्यांकले देखाउँछ ।
नेपालमा पछिल्लो दुई महिनाको अवधिमा मात्रै १२ सय ५४ आत्महत्याका घटना भएका छन् । आत्महत्या गर्नेमा महिलाभन्दा पुरुषको संख्या बढी छ । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार २०७८ को दुई महिना (वैशाख र जेठ) मा मात्रै देशभर ६ सय ८८ पुरुष, ४ सय १५ महिला, ५१ बालक र ९८ बालिकाले आत्महत्या गरेका छन् । यो अवधिमा सबैभन्दा बढी झुन्डिएर एक हजार ३८ जनाले आत्महत्या गरेका छन् । त्यसपछि विष सेवन गरेर १ सय ९१ जनाले आत्महत्या गरेका छन् ।
नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरका अनुसार २०७८ को दुई महिना वैशाख र जेठमा मात्रै देशभर ६ सय ८८ पुरुष, ४ सय १५ महिला, ५१ बालक र ९८ बालिकाले आत्महत्या गरेका छन् । यो अवधिमा सबैभन्दा बढी झुन्डिएर एक हजार ३८ जनाले आत्महत्या गरेका छन् । त्यसपछि विष सेवन गरेर १९१ जनाले आत्महत्या गरेको प्रवक्ता कुँवरले बताए ।
कुन प्रदेशमा कति घटना ?
प्रदेशअनुसार यो दुई महिनाको अवधिमा सबैभन्दा बढी प्रदेश १ मा २ सय ९३ जना र सबैभन्दा कम कर्णाली प्रदेशमा ५३ जनाले आत्महत्या गरेका छन् ।
प्रदेश १ मा वैशाखमा कुल १ सय ४१ घटना भएकामा १ सय २६ जनाले झुन्डिएर, १३ जनाले विष सेवन गरी, १ जनाले हातहतियारबाट र १ जनाले डुबेर आत्महत्या गरेका छन् । जसमा ७८ जना पुरुष, ४६ जना महिला, ७ जना बालक र १० जना बालिका छन् । जेठ महिनामा कुल १ सय ५२ घटना भएकामा १ सय ४२ जनाले झुन्डिएर, ८ जनाले विष सेवन गरी, १ जनाले हातहतियार र १ जनाले करेन्ट लगाएर आत्महत्या गरेका छन् । जसमा ८९ जना पुरुष, ४९ जना महिला, ५ जना बालक र ९ जना बालिका छन् ।
त्यस्तै प्रदेश २ मा वैशाखमा कुल ८४ घटना भएकामा ७३ जनाले झुन्डिएर, १० जनाले विष सेवन गरी, १ जनाले आगो लगाएर आत्महत्या गरेका छन् । जसमा ३१ जना पुरुष, ३० जना महिला, ४ बालक र १९ जना बालिका छन् । त्यस्तै जेठ महिनामा कुल ८९ घटना भएकामा ८० जनाले झुन्डिएर र ९ जनाले विष सेवन गरेर आत्महत्या गरेका छन् । जसमा ३४ जना पुरुष, २९ जना महिला, १० बालक र १८ बालिका छन् ।
त्यस्तै, वाग्मती प्रदेशमा वैशाख महिनामा कुल ९४ घटना भएकामा ८१ जनाले झुन्डिएर, १२ जनाले विष सेवन गरी र १ जनाले आगो लगाएर आत्महत्या गरेका छन् । जसमा ६० पुरुष, २७ महिला, ६ बालक र १ बालिका छन् । त्यस्तै, जेठ महिनामा कुल ९८ घटना भएकामा ६९ जनाले झुन्डिएर र २९ जनाले विष सेवन गरेर आत्महत्या गरेका छन् । जसमा ६८ जना पुरुष, २४ महिला, १ बालक र ५ बालिका छन् ।
गण्डकी प्रदेशमा वैशाखमा कुल ६५ घटना भएकामा ५४ जनाले झुन्डिएर, ९ जनाले विष सेवन गरी, एकजना हातहतियारबाटर एकजना हाम फालेर आत्महत्या गरेका छन् । जसमा ४७ पुरुष, १७ महिला, १ बालक र बालिका छन् । त्यस्तै जेठ महिनामा कुल ४३ घटना भएकामा ३३ जनाले झुन्डिएर, ७ जनाले हाम फालेर, २ जनाले विष सेवन गरी र १ जनाले डुबेर आत्महत्या गरेका छन् । जसमा २४ पुरुष, १५ महिला, १ बालक र ३ बालिका छन् ।
लुम्बिनी प्रदेशमा वैशाख महिनामा कुल ९४ घटना भएकामा ७४ जनाले झुन्डिएर, १७ जनाले विष सेवन गरी, दुईजनाले हाम फालेर र एकजना हातहतियारबाट आत्महत्या गरेका छन् । जसमा ५४ पुरुष, २८ महिला, ५ बालक र ७ जना बालिका छन् । त्यस्तै जेठ महिनामा कुल १२४ घटना भएकामा १०२ जनाले झुन्डिएर, २० जनाले विष सेवन गरी र २ जनाले हाम फालेर आत्महत्या गरेका छन् । जसमा ६७ जना पुरुष, ३९ महिला, ५ बालक र १४ बालिका छन् ।
त्यस्तै, कर्णाली प्रदेशमा वैशाख महिनामा कुल २० र जेठमा कुल ३३ घटना भएकामा ४४ जनाले झुन्डिएर, ८ जनाले विष सेवन गरी र एकजनाले डुबेर आत्महत्या गरेका छन् । जसमा २४ पुरुष, २४ महिला, १ बालक र ४ बालिका छन् ।
त्यस्तै, सुदूरपश्चिम प्रदेशमा वैशाखमा कुल ५१ र जेठमा ६३ घटना भएकामा ७८ जनाले झुन्डिएर, ३३ जनाले विष सेवन गरी, एकजना करेन्ट लगाएर र १ जनाले हाम फालेर आत्महत्या गरेका छन् । जसमा ५६ पुरुष, ४६ महिला, ४ बालक र ७ बालिका छन् ।
निषेधाज्ञामा आत्महत्याका घटना बढे
नेपालमा निषेधाज्ञाको अवधिमा आत्महत्या घटना बढेका छन् । कोरोना संक्रमणको पहिलो लहर नियन्त्रणमा आएर अवस्था केही सहज हुँदै गएको थियो । तर वैशाख लाग्दै फेरि दोस्रो लहरको संक्रमणले स्थिति नाजुक बनायो । जसको रोकथाम तथा नियन्त्रणका लागि भन्दै देशका विभिन्न ठाउँमा धमाधम निषेधाज्ञा जारी गरियो । कोरोनाको दोस्रो लहर फैलिएपछि काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा वैशाख दोस्रो सातादेखि निषेधाज्ञा जारी गरिएको थियो । जसले गर्दा वैशाख महिनाभन्दा जेठमा आत्महत्या घटना बढेका छन् । वैशाख महिनामा देशभर कुल ५ सय ९२ आत्महत्याका घटना भएकामा जेठमा बढेर ६ सय ६२ घटना भएका छन् । यो तथ्यांकले पनि निषेधाज्ञामा आत्महत्याका घटना बढेको पुष्टि गर्छ ।
त्यस्तै मनोविद् डा. करुणा कुँवरका अनुसार जब कुनै व्यक्तिले सोचेका सबै कुरा निराशामा परिणत हुन्छ, आशा भन्ने उसले केही पनि देख्दैन र संसारमा कुनै पनि कुराले उसको आशा पलाउन सक्दैन भन्ने लाग्छ तब उसले आत्महत्याको बाटो रोज्छ । ‘सबैभन्दा पहिले मानसिक स्वास्थ्यबारे चर्चा गर्ने, पढ्ने, सुन्ने अथवा यसबारे चासो देखाउने र लाज नमानी खुलेर बोल्ने, आत्महत्या गर्ने व्यक्तिहरूलाई कुनै न कुनै समस्या भएर उनीहरूले आत्महत्या गर्न खोजेको हो कि भन्ने थाहा पाउने प्रयास गर्नुपर्छ,’ डा. कुँवरले भनिन्, ‘ती व्यक्तिहरूलाई सहयोग गर्ने, त्यस्तो समस्या भएकाहरूले परिवारहरूले माया ममता दिने, कसैले आत्महत्याको प्रयास गर्न लागेको या उसले आत्महत्याको कुरा गरेको छ भने विशेषज्ञहरूको सल्लाह-सुझाव समयमै लिनेलगायत परिवारमा खुलेर कुरा गर्ने वातावरण भयो भने आत्महत्याका घटनाहरूलाई न्यूनीकरण गर्न धेरै हदसम्म सहयोग पुग्न सक्छ ।’
मनोविद् डा. करुणा कुँवरसँगको विस्तृत अन्तर्वार्ता असार १२ गते शनिबार नेपालखोजमा पढ्न सक्नुहुन्छ । प्रतीक्षा गर्नुहोला ।
प्रतिक्रिया