शुक्रबार, चैत १६, २०८०

एनएमबि बैंक र टेन्सेन्ट होल्डिंग्सबीच सम्झौता

नेपालखोज २०७७ असोज २५ गते १७:३७

काठमाडौं । एनएमबि बैंकले चिनियाँ कम्पनी टेंन्सेन्ट होल्डिंग्स लिमिटेडसंग सम्झौता गरी उक्त कम्पनीको विच्याट भुक्तानी प्रणाली मार्फत नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुले सहजरुपमा नेपालमा खरिद गरेको बस्तु तथा सेवाको भुक्तानी गर्नसक्ने व्यवस्था गरेको छ । यस बैंक विच्याट भुक्तानी सेवा प्रदान गर्ने देशको पहिलो र एकमात्र बैंक रहेको छ ।

टेन्सेन्ट होल्डिंग्ससंगको यस साझेदारीबाट एनएमबि बैंक नेपालमा विच्याट भुक्तानी सेवा प्रदान गर्ने उक्त संस्थाको आधिकारीक साझेदार बन्नेछ । बैंकले १.१७ अर्ब भन्दा बढी सक्रिय मासिक प्रयोगकर्ताहरू रहेको संसारकै सबैभन्दा प्रभावकारी भुक्तानी प्रणाली सेवा मध्ये एक विच्याट भुक्तानी प्रणाली संचालनका लागि टेन्सेन्ट होल्डिंग्स लिमिटेडसंग प्रत्यक्ष साझेदारी गर्ने नेपालको पहिलो बैंक हुन पाउँदा अत्यन्त गौरवान्वित महसुस गरेको बताए ।

नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटकहरूको योगदान उल्लेखनिय रहेको छ । देशको पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान गर्नसक्ने चिनियाँ पर्यटकहरुलाई यस बैंकले उनीहरूले सबैभन्दा मन पराएको भुक्तानी प्रणाली विच्याटको सुविधा प्रदान गर्न सक्षम भएको जानकारी दिएको छ । यस प्रणलीबाट पर्यटकहरुले सामना गरेको मुद्रा विनिमेयको समस्यालाई सहज बनाउने छ ।

साथै, चिनियाँ पर्यटकहरुले नेपालमा बस्तु तथा सेवामा गर्ने खर्चलाई बढाउन र नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरुको संख्या बृद्धि गर्न समेत मद्दत गर्ने बैंकले जनाएको छ । यसबाट देशको विदेशी मुद्राको संचिति बढाउँन समेत सहयोग पुग्नेछ । विच्याट भुक्तानी प्रणालीको नेपालमा सहज उपलब्धताले साना तथा मझौला व्यवसायीहरुलाई बिदेशी मुद्रा कारोवारको हिसाव मिलानको सहज व्यवस्थापन गर्न समेत मद्दत पुग्ने बैंकले जानकारी दिए ।

एनएमबि बैंक लि. र टेन्सेन्ट होल्डिंग्सका बीचमा भएको यस साझेदारीले नेपाल भ्रमण गर्ने पर्यटकहरूलाई भुक्तानीका सहज तथा सरल प्रणाली उपलब्ध गराउँन विविध विकल्पहरूको खोजी गर्न अन्य धेरैको लागि ढोका खोल्नेछ भन्ने कुरामा बैंक विश्वस्त रहेको बताएको छ । बैंकले नेपालमा डिजिटल बैंकिङ्गको परिदृश्य बदल्दै ग्राहकहरुलाई सहज र सरलरुपमा डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्नेतर्फ द्रुत गतिमा प्रगति गरिरहेको जानकारी समेत बैंकले दिएको छ ।

प्रतिक्रिया