कान्ति बाल अस्पतालको अक्सिजन प्लान्ट जडानमा कमिशनको खेल
काठमाडौं । बालबालिकाको उपचार गराउँदै आईरहेको सरकारी अस्पताल कान्ति बाल अस्पतालमा यतिखेर अक्सिजन प्लाण्ट सप्लायर्सको निकै नै आवत जावत हुन थालेको छ । अक्सिजन प्लाण्टकै कारणले विरामीको उपचारमा असहज भएको कान्ति अस्पतालको समस्या समाधान गर्न काठमाडौं महानगरपालिकाले २ करोड रुपैयाँ अनुदान दिने गरी सम्झौता गरेको थियो । तर, जनताले तिरेको करबाट जनताको सेवा होस् भन्ने महानगरको सहयोगलाई कान्ति बाल अस्पतालको व्यवस्थापन पक्षले भने दुरुपयोग गर्न लागेको छ ।
महानगरपालिकाले दिएको २ करोड भित्रबाट अक्सिजन प्लाण्ट स्थापना गर्नका लागि अस्पताल प्रशासनले पहिलोपटक टेण्डर खोलेपनि गुणस्तरीय अक्सिजन प्लाण्ट जडान गर्ने सप्लायर्स आउन सकेनन् र टेण्डर रद्ध गरियो । पहिलो प्रयास असफल भएपश्चात् कान्ति बाल अस्पताल व्यवस्थापन पक्षले भने आर्थिक प्रभावमा सेटिङ्ग मिलाएर अक्सिजन प्लाण्ट जडान गर्ने तयारी स्वरुप दोस्रो टेण्डरको अन्तिम म्याद असोज २८ गतेलाई राखेको छ ।
अस्पताल व्यवस्थापन र कार्यकारी निर्देशक कृष्ण पौडेलको सेटिङ्गमा अक्सिजन प्लाण्ट जडान गर्ने सप्लायर्सलाई आफू अनुकूल मापदण्ड बनाएको देखिन्छ । सकेसम्म अक्सिजन प्लाण्ट जडान गर्दा विद्युतीय खपत, गुणस्तर र मेशिनको आयु समेतलाई ख्याल गर्नुपर्ने अन्तर्राष्ट्रिय मापदण्डको खिल्ली उडाउँदै अस्पतालले भोजभतेरका भरमा मापदण्ड तय गरेको छ ।
मापदण्ड तयार गर्नका लागि कान्ति बाल अस्पतालमा बायोमेडिकल इन्जिनियर छैनन् । बायोमेडिकल इन्जिनियरले बनाउनु पर्ने मापदण्ड जुनियर इन्जिनियरलाई बनाउन लगाइएको छ । अक्सिजन प्लाण्टका लागि नयाँ–नयाँ आधुनिक र विद्यूतीय खपत कम हुने खालका प्लाण्ट आईसक्दा पनि अस्पताल व्यवस्थापनले भने सेटिङ्गका आधारमा गैरकानूनी ढंडले मापदण्ड बनाएर परम्परागत प्रविधिलाई नै स्थापना गर्ने तयारी गरिरहेको टेण्डरको सूचनाले नै पुष्टि गरेको छ ।
अस्पतालले अक्सिजन प्लाण्ट स्थापनाका लागि टेण्डर आह्वान गरेपश्चात् गरेको प्रि–विडिङ वैठकमा मापदण्डका विषयमा चर्को आलोचना भएको थियो । अस्पतालले वायोमेडिकल इन्जिनियर विना बनाएको मापदण्डका विरुद्ध वैठकमा नोट अफ डिसेन्ट लेख्ने काम समेत भएको थियो । तर, आर्थिक प्रभावमा चुर्लुम्म डुबेको कान्ति बाल अस्पताल व्यवस्थापन पक्ष भने महानगरपालिकाको बजेटमा सप्लायर्सको कमिशनमा मस्त हुने तयारी गरिरहेको छ ।
कान्ति अस्पतालको यो सेटिङ्गमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खरिद महाशाखाका प्रमुख गुणराज लोहनी समेत मुछिएका छन् । लोहनीले नियम विपरित मापदण्ड निर्माण गर्दा मौन बसेर कमिशन खाने बाटो खुला गरिदिएका छन् । खरिद प्रक्रियाका लागि निश्चित मापदण्ड अनिवार्य गराउने नाममा सरकारलाई बढी आर्थिक भार पर्ने दीर्घकालीन असर पर्ने किसिमले अक्सिजन प्लाण्टको टेण्डर आह्वानको सूचना निकालिएको छ, तर लोहनीले एक शब्द पनि बोलेनन् । अचम्मको कुरा त के हो भने अक्सिजन प्लाण्ट स्थापना गर्ने संस्थाले नेपालभित्र तीन स्थानमा अनिवार्य अक्सिजन प्लाण्ट राखेको अनुभव हुनुपर्ने भन्दै कान्ति बाल अस्पतालका कार्यकारी निर्देशक कृष्ण पौडेल, आर्थिक प्रशासन प्रमुख पशुपति महत र एक अक्सिजन प्लाण्ट सप्लायर्सको सेटिङ्गमा अनुदानदाता काठमाडौं महानगरलाईसमेत थाहा नदिई प्लाण्टको टेण्डर शुरु गरिएको छ ।
अक्सिजन प्लाण्टको टेण्डर र मापदण्ड गैरकानूनी ढंगले गरिएको, सेटिङ्गमा टेण्डर खुलाएको एवं प्रि–विड व्रिफिङमा भएको विवादका विषयमा कान्ति बाल अस्पतालका कार्यकारी निर्देशक कृष्ण पौडेल बोल्न चाहेनन् । पटक–पटक सम्पर्क गर्ने प्रयासमा पनि उनी विभिन्न बहाना बनाउँदै पन्छिए भने आर्थिक प्रशासन प्रमुख पशुपति महत भने माथिको निर्देशन भन्दै बोल्न चाहेनन् ।
अस्पतालमा जडान गरिने अक्सिजन प्लाण्ट खरिद प्रक्रियाको मापदण्ड नै गैरकानूनी र सेटिङ्गमा भएको भन्दै केही सप्लायर्सले भने अख्तियारमा उजुरी गर्ने तयारी समेत गरिरहेका छन् ।

प्रतिक्रिया