नेपाल चेम्बर अफ कमर्सको ७० औंं वर्ष दिवसको अवसरमा झण्डोत्तलन

नेपालखोज २०७७ असोज २७ गते १६:३५

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले चेम्बर दिवसको अवसरमा आयोजित कार्यक्रम माझ झण्डोत्तलन गरेका छन् । मंगलबार चेम्बर भवन जमलमा आयोजित चेम्बर दिवस कार्यक्रम माझ भट्टले झण्डोत्तलन गरेका हुन् ।

उक्त अवसरमा मन्त्री भट्टले वि.स. २००७ सालमा स्थापित नेपाल चेम्बर अफ कमर्सले आफ्नो स्थापना काल देखिनै उद्योग, वाणिज्य क्षेत्रको विकाश तथा अन्य व्यावसायीक गतिविधिहरु विस्तारका लागि निर्वाह गरेको भूमिका प्रसंशनीय रहेको बताए । सो अवसरमा मन्त्री भट्टले कोभिड १९ को बिषम परिस्थितिमा निजी क्षेत्र र सरकारबीच समन्वय र सहकार्यद्वारा आपूर्ति व्यवस्था सहज भएको बताए । ‘नेपाल चेम्बर अफ कमर्स लगायत अन्य निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थालाई हामीले सरकारको अभिन्न अंगको रुपमा लिएका छौ र ब्यापार घाटा न्यून गर्न, लगानी तथा उत्पादन वढाउने सम्वन्धी नीतिगत सुधारमा हामी टीमवर्कको रुपमा कार्य गरिरहेका छौ भने निजी क्षेत्रको सुझावलाई हामी सदैव गम्भीरता पूर्वक लिएका छौ’ भट्टले भने ।

सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले आफनो स्वागत मन्तब्यमा चेम्बरको ७० वर्षको अवधिमा चेम्बरको प्रमूख उपलब्धी बारे चर्चा गर्दै नेपालको समग्र आर्थिक विकासका लागि निजी क्षेत्रको क्षमता र दक्षता अभिवृद्धि गर्ने तथा खुला अर्थतन्त्रको विकासमा निजी क्षेत्रको तर्फबाट महत्वपूर्ण योगदान दिएको चर्चा गरे । अध्यक्ष श्रेष्ठले विश्व बजारमा नेपाली व्यबसायीहरुको उत्पादनलाई प्रतिस्पर्धी तथा गुणस्तरीय बनाउन सहयोग एवम सहजीकरण गर्ने कार्यमा नेपाल चेम्बर अफ कमर्स समर्पित रहेको पनि बताए । अध्यक्ष श्रेष्ठले कोभिड १९ बाट सृजित असहज परिस्थिती माझ निजी क्षेत्रका चुनौति पनि थपिएको उल्लेख गरे । त्यसैगरि उनले जिल्ला चेम्वरहरुको भूमिका बारे प्रकाश पार्दै मैत्रीपूर्ण बजार अनुगमनको आवश्यकता माथि जोड दिनुपर्ने औल्याए ।

कार्यक्रम माझ चेम्बरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्ष कमलेश कुमार अग्रवाल, उपाध्यक्ष दिपक मल्होत्रा, महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । चेम्बरले सदस्यहरुको न्युन उपस्थिती माझ कार्यक्रम सम्पन्न गरेको थियो ।

प्रतिक्रिया