अनुमति प्राप्त प्रयोगशालाले मात्र एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्न पाउने

नेपालखोज २०७७ असोज २७ गते १९:३८

काठमाडौं । कोरोना परीक्षणका लागि बनाइएको नेशनल टेस्टिङ गाइडलाइन फर कोभिड-१९ चौथो पटक संशोधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना परीक्षण गर्न बनेको नेशनल टेस्टिङ गाइडलाइन चौथो पटक संशोधन भएको जानकारी दिएका हुन् ।

इन्सिडेन्ड कमान्ड सिस्टमको निर्णय पछि हेल्थ इमर्जेन्सी सेन्टरले स्वास्थ्य सेवा विभागलाई पत्राचार गर्दै कोरोना परीक्षणको लागि उक्त डाइडलाइन परिवर्तन भएकोबारे जानकारी गराएको उनले जानकारी दिए । संशोधन भएको गाइडलाइनमा कोभिड-१९ एन्टिजेन परीक्षणका लागि एफडिए, एयुए मान्यता प्राप्त किटहरु र स्वास्थ्य सेवा विभागबाट स्वीकृति भएका किटहरु मात्र सुचिकृत हुनुपर्ने उनले जानकारी दिए ।

त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अनुमति प्राप्त गरेका प्रयोगशालाले मात्र एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्न पाउने व्यवस्था गरिएको डा. गौतमले बताए । उनले एन्टिजेन विधिबाट हुने कोरोना परीक्षणको शुल्क अघिकतम एक हजार तोकिएको उल्लेख गरे ।

डा. गौतमलले स्थानीय तहले मापदण्ड पालना नगराएको भन्दै जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्न र गराउने व्यवस्था मिलाउन ७५३ वटै स्थानीय तहलाई निर्देशन दिन सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरिएको जानकारी दिए ।

प्रतिक्रिया