शुक्रबार, वैशाख १४, २०८१

ईश्वर पोख्रेलको मन्त्रालय खोसियो : रक्षा मन्त्रालय प्रधानमन्त्री ओलीले आफै सम्हाल्ने

नेपालखोज २०७७ असोज २९ गते ६:१२

काठमाडौं । रक्षा मन्त्रालयको जिम्मेवारीमा रहेका ईश्वर पोखरेलको मन्त्रालय खोसिएको छ । रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले आफै सम्हालेपछि उनको रक्षा मन्त्रालयको जिम्मेवारी खोसिएको हो । उनलाई उपप्रधानमन्त्रीमा मात्रै राखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्‍मा हेरफेर गरेकी हुन् । राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्‍मा नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको उल्लेख छ ।

नयाँ मन्त्रिपरिषद्‍मा नेकपा महासचिव विष्णु पौडेलले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् । यसअघिका अर्थमन्त्री युवराज खतिवडाले ६ महिनाभित्र संसद सदस्य बन्न नसकेपछि राजीनामा दिएका थिए ।

त्यस्तै यसअघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हालेका पार्वत गुरुङलाई सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनले सम्हालेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मा लिलानाथ श्रेष्ठलाई दिइएको छ ।

प्रतिक्रिया